२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

४०० विकास आयोजना एकैपटक अबरूद्ध पार्ने देउवा सरकारको काममा एमालेको आपत्ति

३० भदाै, काठमाडाैँ । नेकपा (एमाले)ले सरकारले प्रतिस्थापन विधेयकले पहिले ल्याएको बजेटमा केही योजना कटौती गरेकामा आपत्ति जनाएको छ ।

पार्टीका महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गर्दैै आफ्नो सरकारको पालामा ल्याइएका एक हजार ४०० भन्दा बढी विकास आयोजना कटौती गरेकामा आपत्ति जनाएका हुन् । एमालेले बजेट जस्तो संवेदनशील विषयमा सरकारको उदासीनता र गैरजिम्मेवार रवैया देखिएको भन्दै त्यसप्रति खेद व्यक्त समेत गरेको छ ।

‘सन्तुलित विकासको अवधारणाअनुरूप प्रतिनिधिसभाका सदस्यहरूको आग्रहमा अघि बढाएको निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका एक हजार ४०० भन्दा बढी विकास आयोजना कटौती गर्न पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवापूर्ण काम गरेको छ ।’

एमालेले आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय संकटको परिस्थिति सिर्जना हुन पुगेको पनि उल्लेख गरेको छ ।

विज्ञप्तिमा लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको भन्दै विज्ञप्तिमा त्यसले विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : September 15, 2021 at 11:52 pm