२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सभामुख सापकोटाविरूद्ध महाअभियोग ! एमाले बैठकमा यस्तो भयो छलफल

२३ भदौ, काठमाडौँ । सभामुख अग्नि सापकोटाले पदीय गरिमा समाप्त पारेको भन्दै नेकपा एमालेका सांसदहरूले महाअभियोग लगाएर पदमुक्त गर्नुपर्ने बताएका छन । बुधबार भएको एमाले संसदीय दलको बैठकमा सांसदहरूले यस्तो प्रस्ताव गरेका हुन ।

पछिल्लो समय सापकोटाको भूमिका सभामुखको भन्दा बढी माओवादी कमाण्डरको जस्तो भएको भन्दै चर्को आलोचना भैरहेको छ । पछिल्लो पटक सभामुख सापकोटाले एकै खालको नजिर बसाउनुपर्ने निर्णयमा समेत फरक नजिर कायम गरेका छन ।

सभामुख सापकोटाले नेकपा एमाले विभाजनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै एमाले सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउनुपर्ने बताए । संसदीय दलको बैठकमा बस्नेतले भने, ‘सभामुखलाई महाअभियोगसम्म लगाउनेतर्फ ध्यान दिनुपर्छ ।’

सभामुखले एमालेले कारवाही सिफारिस गरेपनि सभामुखले सूचना नटाँसेको र कार्यालय नै नगइ भागेको भन्दै सभामुखको भूमिकाप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ । संसदीय दलको बैठकमा बोल्ने अभिकांश सांसदहरुले संसद बैठक सहज रुपमा सुचारु हुन दिन नहुने भन्दै नेतृत्वलाई खबरदारी गरेका छन ।

सभामुखको गतिविधि गैरकानुनी रुपमा अघि बढेको र बढाएको भन्दै सशक्त प्रतिवाद गर्नुपर्ने धारणा सांसदहरूले राखेका छन । बैठकमा बामगदेव गौतम पत्नी तुलसा थपा र माया ज्ञवाली पनि सहभागी भएका छन । यसअघि उनीहरू समाजवादीमा जानका लागि निर्वाचन आयोगमा सनाखत गर्न पुगेको भए पनि आयोगले सनाखत गर्न मानेको थिएन ।

प्रकाशित मिति : September 8, 2021 at 11:47 am