अब कालापानी क्षेत्रका नेपाली भारतीय सेनाले बुट बजारेको टुलुटुलु हेर्न बाध्य हुनेछैनन्
-अनुजकुमार श्रेष्ठ
सरकारले कालापानी क्षेत्रमा प्रहरी चौकी स्थापना गर्नु ऐतिहासिक कार्य हो । दार्चुलाको ब्यास गाउँपालिका-१ छाङरुमा नेपाल सरकारले पहिलो पटक सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गर्नु साहसिक कार्य हो । कालापानी र लिपुलेक आसपासको क्षेत्रमा सशस्त्र प्रहरी बलको कार्यालय स्थापना हुनु उक्त क्षेत्रको सीमा सुरक्षाका लागि महत्त्वपूर्ण निर्णय हो । यसको जति प्रशंशा गरे पनि काम हुन्छ । कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनाथ हुनुले त्यहाँ बसोबास गर्ने नेपालीहरुमा आत्मबल र उत्साह समेत बढ्ने विश्वास गर्न सकिन्छ।

दार्चुला जिल्लास्थित महाकाली नदीपारी भारतीय क्षेत्रमा पक्की सडक हुनु, यातायातको सुविधा हुनु, मानिसको चहलपहलहुनु तर वारि नेपालतर्फ मानिसहरूको बसोबास अत्यन्तै न्यून हुनु दुःखद कुरा हो । असुरक्षित बसाइँ र न्युनतम मानवीय सुविधा समेत उपलब्ध नहुनुले नेपालतर्फ बसोबास गर्ने केही नेपालीहरु भारततर्फ बसाइँ सर्ने गरेको तितो यथार्थ हो । दैनिक उपभोग्य सामाग्रीहरु जुटाउन समेत भारत तर्फको बजार धाउनु त्यहाँको नागरिकको बाध्यता हो ।
महाकाली नदीमा राखिएका काठेपुलहरुमा भारतीयले ताल्चा लगाएर आफ्नो चाहना र आवश्यक्ता अनुसार खोल्ने र भारतीयले ताल्चा खोल्ने प्रतिक्षामा बजार हिडेका नेपालीहरु कुरेर बस्न पर्नुको पीडा कल्पना मात्रै गर्दा पनि रगत उम्लन्छ । भारतीयहरु आफ्ना गाईवस्तु, भेडा बाख्रा, घोडा लगायतका घरपालुवा चौपायाहरु नेपाल तर्फको वन जंगल तिर चर्न पठाउछन् तर आफ्नो तिर नेपालीलाई प्रवेश दिँदा अपमानित गर्दछन् । सीमाका गाउँमा बस्ने नेपालीहरु अपमान सहेर नुन किन्न भारत पस्छन् । अनि नुनसँगै नेपाली हुनुको पीडा बोकेर फर्किन्छन् ।

भारतीय बाटो भएर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता पनि त्यहाँका नागरिकमा रहेको छ । नागरिकता बनाउन, जग्गा जमिन खरिदबिक्री गर्न, अनि अन्यायमा पर्नेहरु अदालतसम्म पुग्न पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यतामा छन । कालापानी क्षेत्रबाट दार्चुला जिल्लाको सदरमुकाम खलंगासम्म पुग्ने पक्की मोटरबाटो नहुनुको पीडा भोग्दैछन् । औषधी किन्न भारत, उपचार गर्न भारत, आम्दानीको लागि ज्याला मजदुरी गर्न भारतसँग निर्भर हुनुपर्ने त्यहाँका जनता काठमाडौंमा भारत विरोधी नारा लाग्दा महाकाली नदी माथिको पुलमा भारतीय ताल्चा लाग्ने भयमा तड्पिन्छन् ।
जबजब नेपालमा भारत विरोधी आन्दोलन हुन्छन्, तब भारतीयहरु महाकालीको पुलहरुमा ताल्चा लगाएर नेपालीलाई प्रबेशमा रोक लगाउछन् । भारततर्फ पुलिस प्रशासन, सीमा सुरक्षा सैनिक गस्ती अनि बङ्कर बन्द सैन्य क्याम्पहरु तैनाथछन् । तर नेपालतर्फ अनकन्टार घाँसे मैदान, बन जंगल, पहाड अनि कतै कतै पातलो बस्ती बाहेक अरु खासै केही देखिदैन । हो यहि कमजोरीको फाईदा उठाउछन् भारतीयहरु । नेपाली भूमिमा भारतीय सेनाहरु परेड खेल्छन् । अनि सिमानामा बस्ने कमजोर नेपाली जनता भारतीय सेनाले बुट बजारेको टुलुटुलु हेर्न बाध्य थिए ।
सुरक्षाको प्रत्याभूति नहुँदा नेपाली नागरिकता ओल्टाईपल्टाई हेर्ने गर्छन् । हिजोसम्म छारुङमा नेपाल सरकारको बलियो उपस्थिति थिएन । नेपाली जनता मौन थिए । तर आज आफ्नो सामुन्ने नेपाली सुरक्षा फौज देख्दा छारुङवासी दङ्ग छन् । सशस्त्र प्रहरी बलको उपस्थितिले त्यहाँको जनतामा आत्मवल बढेको छ । नेपाली आवाज वुलन्द गर्ने साहस बढेकोछ । अब सिमानामा सिमा सुरक्षा फौजको सङ्ख्या थप्दै जानुपर्छ। छिट्टै नेपाल तर्फ पक्की बाटो बनाउनुपर्छ ।

नेपाल सरकारको ध्यान सिमानामा बस्ने जनताको जीवनस्तर उठाउने तर्फ जानुपर्छ। छाङरु हुदै अब कालापानी, लिपुलेक, छाङ्ग, नावी, टिङ्कर, गुंजीदेखि लिम्पीयाधुरासम्म नेपाली फौजको उपस्थिति पुर्याउनुपर्छ । नेपाली स्वाभिमान रक्षाका निम्ति नेपाल सरकारको यो पहलकदमी ऐतिहासिक छ । कालापानीमा मिचिएको भूमि फिर्ता लिने महाअभियानमा कोसेढुङ्गा साबित हुनेछ। इतिहासमा यो दिन अवश्य सुनौलो अक्षरमा लेखिनेछ । महाकाली नदी सिमा हो, कालापानी हाम्रो हो ।
प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १२:३१












