अन्तिम भिडियो भन्दै फेसबुकमा रोएकी शोभा पाठकको बनस्थलीबाट उद्धार
१७ जेठ, काठमाडौँ । फेसबुकमा आफूले ‘अन्तिम भिडियो’ भन्दै भावुक अपिल सार्वजनिक गरेकी शोभा पाठकलाई प्रहरीले उद्धार गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई काठमाडौं महानगरपालिका–१६ बनस्थली क्षेत्रबाट उद्धार गरी उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रोइरहेको अवस्थामा ‘अन्तिम भिडियो’ भन्दै सन्देश सार्वजनिक गरेपछि सुरक्षा निकाय सक्रिय भएको थियो। त्यसपछि प्रहरी टोलीले उनलाई बनस्थलीबाट उद्धार गरी अस्पताल पुर्याएको हो।
पाठक लामो समयदेखि विभिन्न विषयमा न्यायको माग गर्दै आन्दोलनरत थिइन्। उनले यसअघि सडकमा अनसनसमेत बसेर आफ्ना मागहरू उठाउँदै आएकी थिइन्।
हाल उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले आवश्यक उपचार र निगरानीको व्यवस्था गरिएको जनाएको छ। प्रहरीले शोभाको आफन्तसँग सम्पर्कको प्रयास गरिरहको जनाएको छ ।
यस घटनापछि सामाजिक सञ्जालमा उनको स्वास्थ्य अवस्था र सुरक्षाबारे चासो व्यक्त गरिएको छ। प्रहरीले नागरिकलाई भावनात्मक तनाव वा संकटको अवस्थामा रहेका व्यक्तिबारे जानकारी पाए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ।
प्रकाशित मिति : May 31, 2026 at 12:15 pm









