१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

प्रदेश १ सरकारद्धारा भारतसँगका सबै नाका बन्द गर्न केन्द्र सरकारलाई आग्रह

७ चैत, बिराटनगर । प्रदेश-१ सरकारले भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ। शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी समाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्न जरूरी रहेको बताउनुभयो। ‘अहिलेलाई नाकाहरूमा अत्यावश्यक वस्तुको आपूर्तिबाहेक दुबैतर्फबाट मानिसहरूको आवतजावत रोक्न पहल गर्ने निर्णय भयो।

अब यसको लागि केन्द्र सरकारलाई अनुरोध गर्छौं,’ घिमिरेले भन्नुभयो । प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन्। यस्तै बैठकले एक साताभित्र ५० शैयाको आपतकालीन अस्पताल पनि बनाउने निर्णय गरेको छ।

विराटनगरस्थित नेसनल ट्रेडिङको भवनमा भेन्टिलेटरसहितको अस्पताल स्थपना गरिने मन्त्री घिमिरेले जानकारी दिनुभयो । ‘एक साताभित्र अस्पताल तयार पार्छौं। सेना, प्रहरी लगायत जनशक्तिलाई प्रयोग गर्छौं,’ उहाँले भन्नुभयो । कोरोना जोखिमलाई लिएर प्रदेश सभा बैठक पनि अनिश्चितकालको लागि स्थगित भएको छ। शुक्रबार सभामुख प्रदिप कुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको जानकारी गराउनु भयो ।

प्रकाशित मिति : 17:06