नेकपा सिन्धुपाल्चोकले सबै पालिकामा प्रशिक्षण दिने
४ चैत, मेलम्ची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले जिल्लाका १२ वटै पालिकामा एकै दिन प्रशिक्षण दिने भएको छ । यही चैत्र ८ गते जिल्लाका १२ वटै पालिकामा पालिकास्तरीय राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम गर्न लागिएको सो पार्टीले जनाएको छ । पार्टीले सबै कार्यकर्तालाई एकै ठाउँमा राखेर जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भनिए पनि महामारीका रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसका प्रभावका कारण केन्द्रीकृत नभई विकेन्द्रीकृत रुपमा अगुवा कार्यकर्तालाई भेला गर्न लागेको सो पार्टीले जनाएको छ ।

केन्द्रीय कमिटी र वाग्मती प्रदेश कमिटीका निर्णय तथा ‘पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान’ को भाव सम्प्रेषण/प्रशिक्षण गर्ने मुख्य उद्देश्यसहित जिल्लाका १२ वटै स्थानीय तहमा एकै दिन अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय गरिएको पार्टीका जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चैत्र ८ गते हुने प्रशिक्षण कार्यक्रममा सम्बन्धित पालिकाभित्रका जिल्ला सदस्य, वाग्मती प्रदेश विभाग सदस्य, सम्पर्क मञ्चमा कार्यरत मञ्चका जिल्ला सदस्य, पालिका कमिटी सचिवालय सदस्य, जवस मोर्चा र नगर गाउँपालिकाका सदस्यहरु सहभागी हुनेछन् । उक्त परीक्षणका लागि जिल्लाका शीर्षनेताहरुलाई १२ वटै पालिकामा ताकिएको उहाँले बताउनुभयो ।
त्यसैगरी वैठकले पार्टी र जनप्रतिनिधिबीचको अन्तरक्रिया, स्थानीय तथा वडाहरुमा जनसभा र पार्टी सदस्यता नवीकरणलगायत निर्णय भएको प्रेस सङ्गठन नेपाल वाग्मती प्रदेशका इन्चार्ज चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 19:18









