१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

सरकारी निर्देशन विपरित नेकपा नुवाकोटका नेताहरूको भुतखेलको चाैरमा भोज र नाचगान

१ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको झण्डै दुई तिहाई नेतृत्वको सरकार छ । तर त्यही सरकारले सम्पूर्ण नेपालीका लागि दिएको निर्देशन नेकपा नुवाकोटका नेताहरूले भने धोति लगाइदिएका छन । सरकारले विश्वव्यापी रूपमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि विभिन्न निर्देशन जारी गरेको छ । एक पटक होइन पटक पटक निर्देशन दिइरहेकको छ ।

सरकारका मन्त्रीहरूले पनि सार्वजनिक रूपमा पनि ठूला भेला र भोजभतेर नगर्न अनुरोध गरेका छन । तर नेकपा नुवाकोटका नेताहरूले भने टोखाको भुतखेल चौरमा पिकनिकको नाममा सय जनाको हाराहारीमा भेला भएर शनिबार भोजभतेर गरेर रमाइलो गरे । नुवाकोटका पूर्व सांसद समेत रहेका नेकपा वागमती प्रदेशका नेता राजेन्द्र प्रकाश लोहनीको अगुवाइमा भुतखेलको चौरमा यति ठूलो कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागी भएका प्रेस संगठनका नेता समेत रहेका विष्णु तारूकेका अनुसार प्रदेश ३ की उपसभामुख राधिका तामाङ, नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, प्रदेश सांसद केशव पाण्डे, प्रदेश सांसद वद्री मैनाली, नेकपा नुवाकोटका नेता बुद्धि प्रधान, विष्णु लोहनी, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तारकेश्वर गाउँपालिकका अध्यक्ष रमेश वस्ती लगायतका नेताहरू सहभागी रहेका थिए ।

सरकारले कोरोनाविरूद्ध लड्नका लागि उच्च सतर्कता अपनाउँदै र नागरिकहरूलाइ पनि सोही अनुसारको निर्देशन दिइरहेको बेलामा नेकपाकै नेताहरूले रमिता देखाउँदा सामाजिक सञ्जालमा आलोचना पनि सुरू भएको छ । सरकारले धेरै मान्छे भेला हुने कार्यक्रममा नजान भन्दै फिल्म हलमा समेत नजान भन्दै एक दिन अघिमात्र निर्देशन जारी गरेको थियो । नागरिकलाइ समेत बढी भिडभाड हुने ठाउँमा नजान अनुरोध गर्नुपर्ने नेताहरूनै खुला चाैरमा बसेर यसरी भोजभतेर र मनोरञ्जन गर्नुलाइ धेरै सचेत नागरिकले राम्रो दृष्टिकोणले हेर्न सकेका छैनन् ।

नेकपाले नै केन्द्रीय रूपमा भेला, छलफल लगायतको कार्यक्रम नगर्ने भन्दै आयोजना भैसकेका धेरै कार्यक्रम समेत स्थगसत गरेको छ । स्वयं नेकपाले यसअघि फागुन २३ गते जिल्लाका सबै पालिकाका पदाधिकारी र सदस्यको लागि आयोजना गरेको सपथ कार्यक्रम कोरोना भाइरसविरूद्धको सतर्कताका लागि भन्दै स्थगित गर्ने निर्णय गरेको थियो ।

कोरोनाको कारण देखाउँदै बागमती प्रदेश कमिटीको निर्देशनमा भेला स्थगित भएको भन्ने सूचना ।

सामाजिक सञ्जालमा नेकपाकै कार्यकर्ताले भोज र नाचागानका विषयमा तीव्र असन्तुष्ट जनाउन सुरू गरेका छन । कतिपयले गुटको भेला भनेका छन भने कसैले सरकारी निर्देशन विपरित गलत काम भएको भन्दै आपत्ति जनाएका छन । यहाँ हामीले दुइ जनाको प्रतिक्रिया राखेका छौँ । तस्बीरहरूः पत्रकार विष्णु तारूके र सामाजिक अभियन्ता समेत रहेका नेकपाका युवा नेता रामनाथ खनालको फेसबुकबाट लिइएको हो ।

प्रकाशित मिति : 18:36