१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

भूमिसुधारमन्त्रीको सक्रियतापछि देशैभर अनधिकृतरुपमा कब्जा भएका सरकारी जग्गा खाली हुँदै

२८ फागुन, सुर्खेत । भूमिसुधारमन्त्री पद्मा अर्यालको सक्रियतापछि देशैभर अनधिकृतरुपमा कब्जा भएका सरकारी जग्गा खाली हुन थालेका छन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनधिकृतरुपमा सरकारी जग्गामा निर्माण गरेका घर भत्काएको छ । वीरेन्द्रनगर नगरपालिका– ७ स्थित जिल्ला मालपोत कार्यालय सुर्खेतको नाममा रहेको सरकारी जग्गामा अनधिकृतरुपमा बनाएका घरटहरा भत्काइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिनुभयो ।

मालपोत कार्यालयका साथै प्रशासन कार्यालय सुर्खेतले माघ महिनादेखि पटकपटक आआफ्नो मालसमानसहित टहरा उठाउन भने पनि नटेरेकाले आज डोजर लगाएर टहरा भत्काइएको उहाँले बताउनुभयो ।

“हामीले आज मालपोत कार्यालयको दुई बिघा जग्गामा अनधिकृत तरिकाले बस्दै आएका ३५ घर भत्काएका छौँ,” सूचना अधिकारी लामिछानेले भन्नुभयो, “अझै केही घर भत्काउन बाँकी नै छ ।” वीरेन्द्रनगर नगरपालिकाका सडक छेउछाउका सरकारी जग्गामा बनेका सबैको घरटहरा अब चाँडै भत्काइने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : 23:02