३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

नेपालले वस्तु निर्यातमा सहज पहुँच र व्यापारमा सन्तुलन चाहेको छःउपराष्ट्रपति पुन

२८ वैशाख, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गरेका छन् ।

उपराष्ट्रपति कार्यालय बहादुर भवनमा उनिहरुबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको छ ।
उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीसँगको भेटमा परापूर्वकाल देखिको नेपाल–भारतबीचको सौहार्द र सहयोगात्मक सम्बन्ध भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको तेस्रो पटकको नेपाल भ्रमणले अझै बलियो र प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालको व्यापार घाटा कम गर्दै आर्थिक रुपमा समृद्ध बन्न भारतको सहयोग चाहिने बताएका छन् । उपराष्ट्रपतिले नेपालले वस्तु निर्यातमा सहज पहुँच र व्यापारमा सन्तुलन चाहेको उल्लेख गर्दैे नेपालले पारवहन तथा आपूर्तिमा बेलाबेला देखापर्ने समस्या सधँैका लागि समाधान चाहेको बताएका छन् । उनले नेपालको विभिन्न क्षेत्रमा भारतको ठूलो लगानीको नेपालले अपेक्षा गरेको उल्लेख गर्र्र्दै सीमा क्षेत्रमा हुने डुबान र आवतजावतमा देखापर्ने समस्या हल हुँदै जाने अपेक्षा व्यक्त गरेका छन् ।

उहाँले विगतमा दुई देशबीच भएको सहमति र सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने तथा सम्झौता र सन्धि दुवै देशको पारस्परिक हितअनुकूल र समयानुकूल हुने गरी पुनरवलोकन हुने विश्वाससमेत व्यक्त गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

भेटमा उपराष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण सफल रहेकामा खुशी व्यक्त गर्दै मुक्तिनाथ भ्रमणको सफलताका लागि शुभकामना दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार २१:२५