९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

संसदहरूको सरकारलार्इ अाग्रहः भारतीय हेपाहा प्रवृति र सीमा समस्याको अन्त्य गर

२७ वैशाख, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण, निजामती ऐन, आदिवासी जनजाति ऐन र नेपाल–भारत सीमा क्षेत्रमा देखिएको केही समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै उदया शर्मा पौडेलले संघीय निजामती ऐन ल्याउन राज्यलाई अप्ठ्यारो परेको कर्मचारीलाई उत्साह र प्रेरणा दिन एक तह बढुवा गरेर स्थानीय तह र प्रदेशमा काममा खटाउन सुझाव दिनुभयो ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लक्षित गरेर भारतीय सेना नेपाल भएको भन्ने विषयमा सरकारबाट जानकारी माग गर्नुभयो । सांसद विन्दादेवी रानाले भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणका बेला सीमा क्षेत्रमा थिचोमिचो भएको विषयमा कुरा राख्न तथा प्रबुद्ध समूहले हालसम्म गरेको कार्य प्रगति सार्वजनिक गर्न माग गर्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला भएको भनिएको वान टु वान वार्तामा के भएको थियो, त्योबारे सदनलाई जानकारी गराइयोस् भन्नुभयो ।

युटोल तामाङले आदिवासी जनजाति आयोगलाई प्रभावकारी तुल्याउन तथा दुर्गम क्षेत्रलाई सुगम तुल्याउने ढंगबाट कार्ययोजना अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तारादेवी भट्टले कञ्चनपुरको प्यारा ताललाई कब्जा गर्ने उद्देश्यले भारतीय सुरक्षा फौजले आँखा लगाएको तथा सीमावर्ती क्षेत्रमा भारतीय पक्षले नेपाली किसानको बालीनाली लुट्ने काम गरेकाले सरकारको ध्यान जाओस् भन्नुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार १३:५१