६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

दिल्ली विधानसभाको मतगणना आजदेखि

२८ माघ, नयाँदिल्ली । नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना सुरु भएको छ । दिल्ली निर्वाचन आयोगका प्रमुख रणवीर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ केन्द्रको व्यवस्था गरिएको जानकारी दिए ।

मतगणना अहिले ८ बजे सुरु भएको हो । विद्युतीय मतदान भएकाले चुनावी परिणाम आजै सार्वजनिक हुने अनुमान छ । उनले दिल्लीको मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुले दिनरात लगाएर तथ्यांकहरु रुजु गरिरहेको जानकारी दिए । साथै चुनावको नतिजा स्वच्छ र विश्वसनीय बनाउन आयोगले हरसम्भव प्रयास गरिरहेको सिंहको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दिल्लीको सत्तारुढ आम आदमी पार्टी (आप) का नेताहरुले निर्वाचन समाप्त भएपछि विद्युतीय मतदान उपकरणहरु अनधिकृत तरिकाबाट अन्यत्र लगिएको भन्दै विरोध जनाएका छन् । तर प्रमुख आयुक्त सिंहले आपको उक्त दाबीमा सत्यता नरहेको दाबी गरेका छन् ।

७० स्थानका लागि नयाँदिल्लीमा भएको निर्वाचनको नतिजाप्रति सबैको ध्यान गएको छ । चुनावपछि सार्वजनिक मतसर्वेक्षणले मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आपले दुईतिहाइ स्थानमा जित्ने अनुमान छ । –एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार ०८:११