१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

अहिले प्रधानमन्त्री बन्दिन, पछिको कुरा अर्कैः प्रचण्ड

२७ माघ, काठमाडाैँ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रधानमन्त्री बन्ने लालसा नराखेको बताउनुभएको छ ।
उहाँले अहिले आफूलाई प्रधानमन्त्रीको रेसमा रहेको रुपमा नबुझिदिन पनि आग्रह गर्नुभयो । भविष्यमा भने प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व लिन सक्ने उहाँको संकेत थियो ।

‘म अहिले प्रधानमन्त्री बन्दै छैन’, तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको जन्मथलो नुवाकोटको तुप्चेमा बोगटीको शालीक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक सामारोहलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘भविष्यको कुरा अर्कै हो ।’ कार्यक्रममा काँग्रेस सांसद बहादुरसिंह लामा तामाङले अब हुँदै गरेका प्रधानमन्त्री भन्दै प्रचण्डको सम्बोधन गर्नुभएको थियो । लामाको भनाइको खण्डन गर्दै प्रचण्डले प्रधानमन्त्री बन्ने मनसाय नराखेको प्रष्टीकरण दिनुभएको हो ।

प्रचण्डले आफ्नो ध्यान स्त्तामा नभई मुलुक विकासमा रहेको स्पष्ट गर्नुभयो । चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा एकैसाथ भेटेका बेला आफूले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राखेको चर्चा गर्दै उहाँले त्यसमा अहिले आएर तीनै मुलुकका बीचमा करिब सैद्धान्तिक सहमति कायम भएको उल्लेख गर्नुभयो । ‘उहाँहरुले त्यतिबेला दुई प्लस वान भन्नुभएको थियो, मैले नेपाल सानो छैन ।

टु प्लस वान होइन, थ्री नै हो भनेको थिएँ’, प्रचण्डले भन्नुभयो, ‘त्यही प्रस्तावअनुसार चीनको ल्हासाबाट नुवाकोट हुँदै ठोरीबाट भारत जोड्ने सडक सञ्जाल निर्माण हुने सम्भावना बढेर गएको छ ।’ उहाँले त्रिदेशीय रणनीतिक विकास, कूटनीतिक र कनेक्टिभिटी नै त्रिदेशीय साझेदारी भएको व्याख्या गर्नुभयो । फरक प्रसंगमा प्रचण्डले पोष्टबहादुर बोगटीले आफूलाई पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै राजनीतिक सबै अप्ठ्यारा उतारचढावहरुमा निसर्त साथ दिएको सम्झँदै उहाँको निधनले पार्टी र आफूलाई ठूलो क्षति भएको स्मरण गर्नुभयो ।

सामान्य गरिब परिवारमा जन्मेको र औपचारिक रुपमा उच्च शिक्षा ग्रमण नगरेका बोगटीमा असाधारण क्षमता र व्यक्तित्व रहेको उहाँको भनाइ थियो । बोगटीमा रहेको चारित्रिक र नैतिक बलका कारण उहाँले बोलेपछि पार्टीका शीर्ष नेताहरु समेत हच्किने गरेको प्रचण्डको भनाइ थियो । आफ्नो दायाँ र बायाँ बाबुराम भट्टराई र मोहन वैद्य रहेको स्मरण गर्दै प्रचण्डले बोगटीका अगाडि दुवै डराउने गरेको सुनाउनुभयो ।

‘मेरो दायाँ र बायाँतिर ठूल्ठूला विद्वान डाक्टर र वैद्य थिए’, उहाँ त धेरै नपढेको मान्छे तर, उहाँ बोलेपछि डाक्टर र वैद्यको पसिना छुट्थ्यो ।’ बोगटीको असामयिक निधनमा काँग्रेस, तत्कालीन, एमाले, मधेस केन्द्रित दल तथा स्वदेशी र विदेशी मिडिया सबैतिरबाट दुःख व्यक्त भएको स्मरण पनि प्रचण्डले गर्नुभयो । उहाँले पोष्टबहादुर बोगटीजस्तै सरल, असल, सहृदयी र मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने असाधारण विद्यार्थी उत्पादन गर्न विद्यालयलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रचण्डले विद्यालय हातामा निर्मित बोगटीको शालीक अनावरण गर्नुभयो ।

प्रकाशित मिति : 19:55