१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नुवाकोटमा नेकपाका नेता कार्यकर्ता स्वागत गेट बनाएर कुरे, प्रचण्ड हेलिकप्टरमा उडे

२५ माघ, नुवाकोट । नुवाकोटको पञ्‍चकन्या गाउँपालिकामा शनिबारदेखि हुने ‘प्रथम पञ्‍चकन्या चेयरमेन कप भलिबल प्रतियोगिता’को उद्घाटन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नुवाकोट पुगेका छन । स्थानीयस्तरमा खेल प्रवर्द्धन र खेलाडी पहिचान गर्ने उद्देश्यले पञ्‍चकन्या गाउँपालिकाको आयोजनामा भलिबल प्रतियोगिता सुरू भएको हो ।

प्रचण्ड स्थलमार्गबाट नुवाकोट आउने थाहा पाएपछि शिवपुरी र लिखु गाउँपालिकाका नेकपाका नेता कार्यकर्ताले स्वागत गेट बनाएका थिए । तर बिहान ९ बजे नै प्रचण्ड छहरे बजार आइपुग्ने सूचना पाएका नेता कार्यकर्ताले हृलिकप्टर आउने जानकारी पाए त्यसपछि उनीहरू कार्यक्रमस्थलतर्फ दौडिए । प्रचण्डको स्वागतका लागि नेताहरू तोयानाथ थपलिय, धर्मराज अधिकारी, पदम उप्रेती  लगायत छहरे बजारमा कुरेर बसेका थिए ।

प्रचण्डको स्वागतका लागि कुरेर बसेका नेता/कार्यकर्ता ।

भलिबल खेल पञ्चकन्या गाउँपालिकाको वडा नम्बर २ मा रहेको कालिका मावि मिश्रगाउँमा हुनेछ। गाउँमा लुकेका खेलाडी पहिचान गरी उनीहरुको क्षमता विकासका लागि भलिबल प्रतियोगिता गर्न लागिएको पञ्‍चकन्या गाउँपालिका प्रमुख तेजबहादुर तामाङले बताए। ‘गाउँ–गाउँमा रहेका खेलाडीको खोजी गरेर खेलाडी उत्पादन गरी खेलको विकास गर्छौं,’ उनले भने।

खेल समापनमा भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। प्रतियोगिता तयारीका लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति, उपाध्यक्ष सीता खड्‌काको नेतृत्वमा अतिथि सत्कार र वडाध्यक्षहरुको नेतृत्वमा प्रचारप्रसार, मञ्‍च व्यवस्थापन लगायत उपसमितिहरु बनाइएको छ। तस्बीरहरूः हरि भेटुवाल ।

प्रकाशित मिति : 12:03