१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

पार्टी एकताको डेढ वर्षपछि कार्यसूचीसहित नेकपा केन्द्रीय कमिटी बैठक भोलिदेखि बस्दै

१४ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची (एजेण्डा) तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । उपप्रमुख थापाका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

त्यसैगरी बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको उपप्रमुख थापाले बताए ।  यसैगरी सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ ।

थापाका अनुसार समसामयिक प्रस्ताव अहिलेको राजनीतिक गतिविधिमा केन्द्रीत हुने छ । विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने बताइएको छ । बैठक यही माघ २० गतेसम्म राष्ट्रिय सभागृहमा हुँदैछ । पार्टी एकता भएको डेढ वर्षपछि बैठक पहिलो पटक कार्यसूचीसहित बस्न लागेको हो ।

प्रकाशित मिति : 22:07