१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

‘म त बर्बाद भए यार’ भन्दै ओली र दाहालको चरणमा लम्पसार पर्ने देउवाबाट के आशा गर्ने ?

१२ माघ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवासमा पुगेर ‘म त बर्बाद भए यार’ भन्दै केही नियुक्तिमा भागवण्डा गरिदिन अनुरोध गरेको विषय अहिले चर्चामा छ । कांग्रेसकै कतिपय नेता र कार्यकर्ताहरूलाइ नपचेको यो कुरा केही पत्रकार र मानवअधिकारकर्मीलाइ समेत नपचेको देखिएको छ ।

केही दिनअघि मानवअधिकारको कुरा उठाउँदा ज्यान लिने धम्की अाएको बताउने एमेन्स्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष राजन कुइँकेलले कांग्रेसले एक/दुई थान भागबण्डा नियुक्तिका लागि कांग्रेसको गौरवपूर्ण विरासतलाई धरौटी राखेको तर मानवअधिकार र प्रजातन्त्रका लागि बोल्न छाडेको बताएका छन ।

अाइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा टिप्पणी लेख्दै पूर्व अध्यक्ष कुइँकेलले सभामुखमा हत्या आरोपी अग्नि सापकोटालाई काँध थापेर उपसभामुखका लागि गिडगिडाउनु कांग्रेसका लागि खतराको संकेत भएको बताएका छन । उनले भनेका छन ‘सत्तापक्षले गरिरहेका अनेकानेक काण्डको पर्दाफास गर्दै जनतामा जानु उसको प्राथमिकता होइन । उ त ‘म त बर्बाद भए यार’ भन्दै ओली र दाहालको चरणमा लम्पसार पर्दै एक/दुई थान भागबण्डा नियुक्तिका लागि कांग्रेसको गौरवपूर्ण विरासतलाई धरौटी राख्न पुग्छ । नेतृत्वको निकम्मापनले पार्टीको अस्तित्व धरापमा पर्दा पनि खबरदारीमा उत्रने त परै जाओस् औंला ठड्याउने हिम्मतसम्म पनि कुनै कांग्रेसी नेताले गर्दैनन् ।’

कुइँकेलले लेखेको पुरै टिप्पणी तल पढ्न सक्नुहुन्छ

नेपालको लामो लोकतान्त्रिक आन्दोलनको अगुवा राजनीतिक दल नेपाली कांग्रेसको वर्तमान नेतृत्व कतिसम्म लाचार र निकम्मा भैसकेछ भने उ संसद र सडकमा प्रजातन्त्रको रक्षक हो भन्ने बिर्सदैछ । एक दुई थान राजनीतिक नियुक्तिमा आफ्ना चाकरहरूलाई नियुक्त गराउने लोभमा आफ्नो मूल्यमान्यता, आदर्श, संवैधानिक हैसियत र विवेकलाई बन्दी बनाउँदैछ । सभामुखमा हत्या आरोपी अग्नि सापकोटालाई काँध थापेर उपसभामुखका लागि गिडगिडाइरहेछ । सत्तापक्षले गरिरहेका अनेकानेक काण्डको पर्दाफास गर्दै जनतामा जानु उसको प्राथमिकता होइन । उ त ‘म त बर्बाद भए यार’ भन्दै ओली र दाहालको चरणमा लम्पसार पर्दै एक/दुई थान भागबण्डा नियुक्तिका लागि कांग्रेसको गौरवपूर्ण विरासतलाई धरौटी राख्न पुग्छ । नेतृत्वको निकम्मापनले पार्टीको अस्तित्व धरापमा पर्दा पनि खबरदारीमा उत्रने त परै जाओस् औंला ठड्याउने हिम्मतसम्म पनि कुनै कांग्रेसी नेताले गर्दैनन् । यहि नीति र पथ नछाड्ने हो भने इतिहासमा नागरिक स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रका लागि अमीट योगदान गरेको कांग्रेस कुनै गर्तमा गुमनाम र असान्दर्भिक हुने निश्चित छ

प्रकाशित मिति : 09:01