शहीदकै योगदानले गणतन्त्र आएकाे हाेः महानगर प्रमुख शाक्य
१० माघ, काठमाडौँ । शासकीय शक्ति जनताका हातमा पुर्याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र ल्याउन सफल भएकामा वक्ताहरुले जोड दिनुभएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमअन्तर्गत पहिलो दिन आज शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकु पचलीमा आयोजना गरेको श्रद्धाञ्जलिसभाका सहभागीले उक्त धारणा राख्नुभएको हो ।

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले दलको कुरा गर्न नपाइने समयमा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुती दिने शहीदहरुको योगदान सबैका लागि मार्गदर्शन रहेको बताउनुभयो । प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार शहीदको पूर्णकदको शालिक स्थापना गर्ने क्रममा यस वर्ष महानगरले धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक प्रतिस्थापन गर्दैछ । गत माघ १० गते टेकु पचलीस्थित खरीबोटमुनि आयोजना गरिएको श्रद्धाञ्जलिसभामा शुक्रराज शास्त्रीको शालिकको अनावरण गरिएको थियो ।
राणा शासनविरुद्ध लागेको भन्दै शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा र धर्मभक्त माथेमालाई सिफल उकालोमा बकाइनाको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानेर प्राणदण्ड दिइएको थियो । शास्त्री विसं १९५० वनासरमा जन्मनुभएको थियो ।
वडा नं १२ ले रु १० लाख खर्च गरेर पित्तलको साढे पाँच फिट अग्लो पूर्णकदको शालिकलाई यात्रुले अनुहार देख्ने गरी पूर्व मोहडा बनाएर राखेको छ । शास्त्रीलाई खरीबोटको उत्तर मोहडामा झण्ड्याइएको थियो । यो शालिक महेश तुलाधरले चार महिना लगाएर तयार पार्नुभएको हो । शास्त्रीको श्रद्धाञ्जलिसभा भएको यो स्थानलाई विसं २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।
शहीद सप्ताहका बाँकी कार्यक्रममा यही माघ १३ गते सिफलमा शहीद धर्मभक्तले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते शोभा भगवतीमा गङ्गालाल र शहीद दशरथले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभा गरिनेछ । त्यस्तै माघ १६ गते शहीद स्मारक लैनचौरमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलिसभा गरिनेछ । महानगरपालिकाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो ।
प्रकाशित मिति : 15:42









