नेकपाका नेता श्यामबहादुर खड्का चरेससहित पक्राउ
६ माघ, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउपर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन् ।

उहाँले प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको बताए । पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये खड्का गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : 21:29









