१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

राष्ट्रियसभा निर्वाचन : आजदेखि मौन अवधि सुरु हुँदै, चुनाव प्रचार गरे कारबाही

६ माघ, काठमाडौं राष्ट्रियसभा सदस्य निर्वाचनको प्रचारको समय आज रातिबाट सकिँदै छ । चुनाव भने यही माघ ९ गते बिहीबार हुनेछ ।

निर्वाचन आचारसंहिताबमोजिम आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले प्रचारको काम पनि रोकिने भएको हो । मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन । आयोगले मौन अवधिमा आचारसंहिता पूर्ण पालना गर्न गराउन सरोकारवालासँग अपिलसमेत गरेको छ ।

आयोगले पुस २७ बाटै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत निर्वाचन आचारसंहिताले तोकेका सबै सरोकारवालाले पालना गर्ने गरी आचारसंहिता लागू गरेको थियो । मतदानका लागि सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्लाहरू मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् ।

मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमीनार, अन्तर्क्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन । यदि आचारसंहिता कसैले उल्लंघन गरे/गराइएको पाइए कारबाही गरिने पनि आयोगले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : 07:42