१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रतिनिधिसभाको रिक्त सभामुख पदमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।

आइतबार बिहान पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सापकोटालाई सभामुख बनाउने सहमति भएपछि अपराह्न बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णयपछि सापकोटा सभामुख हुने निश्चित भएको खबर नागरिक दैनिकमा छ ।

बैठकपछि पार्टीका महासचिव विष्णु पौडेलले सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । संसद्कै कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएका थिए । त्यसयता नेकपामा कसलाई सभामुख बनाउने भन्नेबारेमा छलफल चलेको थियो । पार्टीभित्र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले संसदीय दलका उपनेता सुवास नेम्बाङको नाम सभामुखमा प्रस्ताव गरेका थिए । तर अर्का अध्यक्ष दाहालले पार्टी एकीकरण गर्दाको सहमतिअनुसार पूर्वमाओवादीले नै सभामुख पाउनुपर्ने तर्क गर्दै आएका थिए ।

आइतबारको सचिवालय बैठकमा सापकोटाविरुद्ध अदालतमा विचाराधीन मुद्दाका विषयमा के हुन्छ भन्ने प्रश्न पनि उठाइएको थियो । तर दाहालले यो विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगले टुंगो लगाउने जवाफ दिएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले पनि भोलिका दिनमा समस्या नहोस् भन्नेतर्फ आफूहरु दुवैजना सजग रहेको बैठकमा बताएका थिए ।

सभामुखको उम्मेदवारलाई लिएर विवाद बढेपछि नेकपाभित्र छुट्टाछुट्टै समूहले लबिङ थालेका थिए । पूर्वमाओवादी पक्षले दाहाल निवासमा छुट्टै बैठक बसेर दबाब बढाएको थियो भने ओली सुरुदेखि नै नेम्बाङका पक्षमा थिए । उता उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफ्नो पक्षमा लबिङ गर्न थालेपछि पूर्वमाओवादी खेमा झनै सशंकित भएको थियो ।

पूर्वमाओवादी खेमाभित्र सापकोटाका साथै देव गुरुङ, जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी र ओनसरी घर्ती पनि सभामुखका आकांक्षी थिए । अन्तिम समयमा सापकोटा र भुसालमात्रै देखिएपछि भुसाललाई अन्य ठाउँमा व्यवस्थापन गर्ने सहमति गरेर दाहाल आइतबार बिहान बालुवाटार पुगेका थिए । त्यहाँ दुई अध्यक्षबीच दुई घण्टा छलफल भएको थियो ।

बालुवाटारबाट दाहाल सीधै कोटेश्वर
ओलीसँगको छलफल सकिएपछि दाहाल सीधै माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका थिए । उनले ओलीसँगको छलफलबारे नेता नेपाललाई जानकारी गराएका थिए । नेपाल निवासमा करिब २० मिनेट बसेपछि उनी खुमलटार पुगेका थिए । नेपालसहित नेता झलनाथ खनाल सभामुखको विवादमा मौन बसे पनि उनीहरु पूर्वमाओवादीकै पक्षका थिए ।

आइतबार बिहान ओलीको सरकारी निवास वालुवाटारमा सभामुख आफ्नो पक्षमा पारेर निस्केका दाहाल सिधै नेपाल निवास पुगेका हुन् । दुई अध्यक्षबीच बालुवाटारमा करिब २ घण्टा छलफल भएको थियो । छलफलका क्रममा वामदेव गौतमको घरमा भएको अनौपचारिक भेटघाट तथा सचिवालय बैठक र पार्टीभित्र देखिएका विषयहरुको बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

सापकोटा र तुम्बाहाङफे बालुवाटारमा
दुई अध्यक्षबीच सापकोटालाई सभामुख बनाउने सहमति बनेपछि सचिवालय बैठक बस्नुअघि नै उपसभामुख तुम्बाहाम्फे प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । ओलीसँग करिब २० मिनेट भेट गरेपछि उनी पुनः सिंहदरबार फर्केकी थिइन् । त्यहाँ उनले सचिवालयको निर्णय आएपछि आफूले के गर्ने भन्ने निर्णय गर्ने निकटस्थहरुलाई बताएकी थिइन् । सचिवालयको बैठकले आफूलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि सापकोटा पनि ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

को हुन् सापकोटा
सिन्धुपाल्चोकको कुबिन्डे गाउँमा २०१४ सालमा जन्मेका सापकोटा लामो समयदेखि राजनीतिमा सक्रिय छन् । २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट उनी विजयी भएका थिए । त्यसयता उनी लगातार सांसद छन् । २०७० को संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी विजयी भए । उनी २०६८ मा सूचना तथा सञ्चारमन्त्री र २०७३ मा वन तथा भू–संरक्षण मन्त्री भइसकेका छन् ।

प्रकाशित मिति : 07:20