सभामुख टुंग्याउन नेकपा अध्यक्षद्वयलाई सकस : आज पनि ओली–प्रचण्ड छलफलमै
४ माघ, काठमाडौं । नयाँ सभामुख चयनको विषय नेपाली राजनीतिक वृत्तमा अहिले पेचिलो बन्दै गएको छ । यद्यपि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यसको तयारीमा जुटेकै छ । लगातार तीन दिन यसैको छलफलमा जुटेका अध्यक्षद्वयलाई यो विषय टुंग्याउन निकै गाह्रो परेको देखिन्छ । यद्यपि आज भने यस विषयलाई पार लगाउने गरी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुन: छलफलमा जुट्ने भएका हुन् ।

ओली र प्रचण्डबीच सभामुख निर्वाचनलगायत विषयमा हिजो शुक्रबार झन्डे साढे २ घण्टा बालुवाटारमा गहन छलफल भएको छ । सभामुख निर्वाचनको विषयमा सकारात्मक कुराकानी भएको र संसद् बैठक बस्नुअघि टुंगो लगाउने सहमति भएको प्रचण्डको निजी सचिवालयको दाबी छँदै छ । यता बालुवाटार पनि आज जसरी हुन्छ सभामुखको टुंगो लगाउने तयारीमा रहेको स्रोतको दाबी छ ।
पछिल्ला तीन-चार दिनयता ओली-प्रचण्डबीचको छलफलले यो विषय टुंगो लगाउने अन्तिम अवस्थामा पुगिसकेको बताइन्छ । आज शनिबार पनि यही विषयमा छलफल गरी निष्कर्षमा पुग्ने दुवै अध्यक्षको दाउ छ ।
सभामुखको नाममा सहमति जुट्नेबित्तिकै सचिवालय बैठक बोलाउने नेकपाको तयारी छ । सोमबारको संसद बैठकले सभामुखको चयन प्रक्रियाअघि बढाउने महासचिव विष्णु पौडेलले पनि जानकारी दिए । पौडेलले अध्यक्षहरुबीच छलफल जारी रहेको र सहमति जुट्नेबित्तिकै सचिवालय बैठक बोलाएर अनुमोदन हुने जानकारी दिए ।
ओली-प्रचण्ड दुवैको सचिवालयले सभामुख चयनका विषयमा चाँडै निकास दिने गरी तयारी थालिएको दाबी गरेको छ । यसअघि सभामुख चयनका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच आ–आफ्नै अडान रहँदा संसद्को बैठक अवरुद्ध भएको छ ।
सभामुखको विषय टुंगो नलागेकै कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिएको छ । पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सर्दै आएको हो । अब पर्सि (६ गते सोमबार) का लागि संसद् अधिवेशन बोलाइएको छ । सभामुख चयनका लागि बाटो खोलिदिन नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको छ तर उनले सभामुख को बन्ने निश्चित भएपछि मात्र राजीनामाबारे सोच्ने नेकपाका शीर्ष नेतालाई सुझाएकी छन् ।
विगतमा पूर्वमाओवादीको कोटाबाट कृष्णबहादुर महरा सभामुख बनेकाले अहिले पनि पूर्वमाओवादीबाटै सभामुख बन्नुपर्ने पक्षमा प्रचण्ड छन् भने पार्टी एकता भइसकेकाले भागबन्डा गर्न नहुने धारणा अर्का अध्यक्ष ओलीको छ ।
प्रकाशित मिति : 07:15







