भीम रावलको स्वाभिमानमा भ्वाङ, कार्यविधि बिपरित १८ जना सुरक्षाकर्मी र एक पछुवा गाडी लिए
२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावालको स्वाभिमानमा भ्वाङ परेको छ । बिहीबार राजधानी दैनिकले पूर्वमन्त्रीहरूद्वारा कानुन उल्लंघन: सुरक्षाकर्मीको चरम दुरुपयोग शीर्षकमा रावलसहित दर्जन उपप्रधानमन्त्रीहरूले सुरक्षाकर्मीको दुरूपयोग गरिरहेको समाचार प्रकाशन गरेको छ । रावलले पछिल्लो समय एमसीसीबारे जनताले जान्ने तहमा बहस सिर्जना गरेर चर्चित छन । स्वाभिमानको कुरा गरेर नथाक्ने र आफूलाइ स्वाभिमानी मान्ने रावलले नै कार्यबिधिविपरित सुरक्षाकर्मीको दुरूपयोग गर्नु सुहाउँदो विषय होइन ।
समाचार अनुसार पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरूले कानुनमाथि धावा बोल्दै ठूलो संख्यामा सुुरक्षाकर्मी आफ्नो निवासमा तैनाथ गराउँदै आएका छन् । राजधानीका अनुसार राष्ट्रवादी नेताको रूपमा चित्रित नेकपाका नेता रावलले कार्यविधि बिपरित १८ जना सुरक्षाकर्मी राखेका छन । त्यसैगरी अन्यले पनि सुरक्षाकर्मी दुरूपयोग गरेका छन ।

सरकारी कार्यविधिले तोकेभन्दा १० गुणासम्म सुरक्षाकर्मी राखेर उनीहरूले कानुनको धज्जी उडाउँदै आएका हुन् । यसरी कानुन मिचेर सुरक्षाकर्मी राख्ने पूर्वउपप्रधान तथा गृहमन्त्रीहरूमा कमल थापा, बिजय कुमार गच्छदार, रामचन्द्र पौडेल, प्रकाशमान सिह, वामदेव गौतम, कृष्णप्रसाद सिटौला, जनार्दन शर्मा, पूर्णबहादुर खड्का, गोविन्दराज जोशी, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठलगायत रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई उपलब्ध गराएको सूचीअनुसार कार्यविधिमा बढीमा तीन जना सुरक्षाकर्मी पाउने प्रावधान भए पनि अधिकांशले १० देखि २० जना सुरक्षाकर्मी राख्दै आएका हुन् । केहीले सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने गरेका छन । कार्यविधिमा पूर्वउपप्रधान तथा गृहमन्त्रीलाई पदबाट बाहिरिएको तीन वर्षसम्म सुरक्षाका लागि २ देखि ३ जना सम्म सुरक्षाकर्मी उपलब्ध गराउन सक्ने प्रावधान छ । तर, अधिकांशले पदबाट बाहिरिएको तीन वर्षपछि पनि ठूलै संख्यामा सुरक्षाकर्मी राखेर गैरकानुनी कार्य गर्दै आएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
कसले कति जना राखे ?
–वामदेव गौतम–१६ जना
–रामचन्द्र पौडेल– ११ जना
–भीम रावल– १८ जना
–कमल थापा– १५ जना
–विजयकुमार गच्छदार– १२ जना
–प्रकाशमान सिंह– १७ जना
–विमलेन्द्र निधि– १२ जना
–कृष्णप्रसाद सिटौला– १४ जना
–जनार्दन शर्मा– १५ जना
–गोविन्दराज जोशी– ६ जना
प्रकाशित मिति : 09:22









