३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्छः मन्त्री ज्ञवाली

१ माघ, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय योग मूल समारोह समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रममा उहाँले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताउनुभयो ।

उहाँले आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएको बताउनुभयो । उहाँले निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो । आधुनिक चिकित्साले उपचार नभएको बेला प्राकृतिक चिकित्साअन्तर्गत योग गरेर नै हाम्रा पुर्खाले उपचार गरेको उहाँको भनाइ थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बुधबार राष्ट्रिय योग दिवस, मकर संक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुुभक्त ढकाललगायत योग अभ्यास गर्नुहुँदै ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकार रोग लाग्न नदिने अभियानमा रहेको बताउनुभयो । उहाँले योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा समेट्ने बताउनुभयो । उहाँले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने बताउनुभयो । उहाँले योगलाई सप्ताहरूपमा नभएर वर्षभित्र अभियानका रुपमा सञ्चालन गर्ने तयारीसमेत भएको बताउनुभयो ।

कार्यक्रममा पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नुपर्ने बताउनुभयो । स्वामी आनन्द अरुण गौतम बुद्ध जन्मेको दिनलाई योग दिवस मनाउनुपर्ने बताउनुभयो । ब्रह्मकुमारी कुसुमले योगले जीवनलाई सुखी बनाउने बताउनुभयो । आर्ट अफ लिभिङका अच्युत गौतमले योगलाई माध्यमिक तहसम्मको शिक्षामा समावेश गर्नुपर्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बुधबार राष्ट्रिय योग दिवस, मकर संक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुुभक्त ढकाललगायत योग अभ्यास गर्नुहुँदै । तस्वीरः रत्न श्रेष्ठ, रासस ।

सोही अवसरमा योग क्रियाकलाप कसरी गर्ने भन्नेबारेमा मन्त्रालयद्वारा गठित राष्ट्रिय योग अभ्यासक्रमका संयोजक सोनाम साथीले मन्त्री पोखरेललाई योगाभ्यास पुस्तिका हस्तान्तरण गर्नुभएको थियो । पुस्तिकामा योगाभ्यासका चरणहरु उल्लेख गरिएका छन् ।

यसैगरी समारोहको सक्रियतामा बिहान प्रभातफेरी गरिएको थियो । पद्मोदय माध्यामिक विद्यालयबाट शुरु भएको प्रभातफेरी पुतलीसडक, बागबजार, रत्नपार्क हँुदै राष्ट्रिय सभागृहमा आएको थियो । प्रभातफेरीमा योगसँग सम्बन्धित सङ्घसंस्थाको सहभागिता रहेको थियो । सरकारले प्रत्येक माघ १ गतेलाई योग दिवसका रुपमा मनाउँदै आइएको छ । आज मुलुकभर ‘राष्ट्रिय एकताः योगको सान्दर्भिकता’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रकाशित मिति : January 15, 2020 at 1:33 pm