१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

माघीमा प्रधानमन्त्रीको शुभकामना, ‘हरेक पर्व प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन्’

१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका रुपमा रहेका पर्वलाई सरकारले संरक्षण गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

माघीका अवसरमा प्रधानमन्त्रीले दिएको सन्देशमा भनिएको छ, ‘हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरु यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् । यी पर्वहरुले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेका छन् ।’

माघे सङ्क्रान्तिमा मासको दाल र चामल मिसाइएको खिचडी, घिउ–चाकु–तिलको लड्डु, सागपात, तरुल खाने चलन छ ।

प्रकाशित मिति : 09:21