१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

सशस्त्रमा ६ डीआईजी पद रिक्त, भावी आईजीपीका दाबेदार नै ‘रिटायर्ड’

१७ पुस, काठमाडौं सशस्त्र प्रहरी बलमा बुधबारदेखि तीन नायब महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । डीआईजीको पाँच वर्षे सेवा अवधिका कारण तीनजनाले अवकाश पाएसँगै सशस्त्रमा रिक्त डीआईजीको संख्या ६ पुगेको छ ।

बुधबार अवकाश पाउने डीआईजीमा सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द धिताल छन् । उनीहरू सबै २०५१ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी बलको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई भावी नेतृत्वका लागि दाबेदार मानिएको थियो । सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई इमान्दार, भिजन भएको अधिकृतका रुपमा समेत लिने गरिन्थ्यो ।

हालका महानिरीक्षक शैलेन्द्र खनालको उत्तराधिकारीका रूपमा समेत हेरिएका श्रेष्ठको अवकाशलाई सशस्त्र प्रहरीभित्र धेरैले सहज रूपमा लिन सकेका छैनन् । खनालपछि उनले नेतृत्व लिँदा सशस्त्र प्रहरीले सहज बाटो लिने र संगठनको साख थप बढ्ने संगठनभित्र चर्चा पनि चल्ने राजधानी दैनिकमा खबर छ । तर अब यो च्याप्टर बन्द भएको छ । सशस्त्र प्रहरीको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठको नाम र तस्बिर राति नै वेबसाइटबाट पनि हटाइएको छ । र, त्यहाँ सूचना शाखाका प्रमुख डीएसपी अजय छतकुलीलाई सहायक प्रवक्ता भनेर राखिएको छ ।

सशस्त्र प्रहरी बलमा ६ एआईजी दरबन्दी रहेकामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पाँच वटा थपेर ११ पुर्‍याइएको थियो । हालको सरकारले गत वर्षको जेठमा एआईजीको संख्या घटाउँदै दुईमा झरेको थियो । त्यसबेला तत्काललाई तीन एआईजी राख्ने व्यवस्था गर्दै जुनसुकै कारण पद रिक्त भए पनि नथप्ने भन्दै दुई जना रहने व्यवस्था गरेको थियो ।

तर, सशस्त्रको वर्तमान नेतृत्वले दरबन्दी थप गर्न गृह मन्त्रालयसँग पटकपटक माग गरेको थियो । तर, प्रस्ताव अस्वीकृत भएसँगै तीनै जना डीआईजीले सेवा प्रवेश गरेको २५ वर्षमै घर जानुपर्ने बाध्यता आएको हो ।

रिक्त दरबन्दीमा बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक केबी ब्रह्मचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, राजेन्द्र अधिकारी, किशोर प्रधानलगायत प्रतिस्पर्धामा छन् ।

अबको केही दिनमा सशस्त्रमा अन्य केही अधिकारी पनि घर जाँदै छन् । २८ माघमा एसएसपीद्वय दमन थापा र फणीन्द्र पौडेल, एसपीहरू राजु महर्जन, रत्न पोखरेल, सुवर्ण थापामगरलगायत पनि अवकाश हुँदै छन् । उनीहरू ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका हुन् ।

प्रकाशित मिति : 06:39