भानुभक्त आचार्यको कुण्ठामाथि त्रिवि पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनालको जवाफ
१५ पौष, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले केहीदिन अघि विभागको बारेमा नेपाललाइभमा प्रकाशित एक लेखप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकारिता विभागका बारेका क्यानडामा बस्दै आएका भानुभक्त आचार्यले एउटा लेख प्रकाशित भएको थियो जसमा कुण्ठामात्र पोखिएको भन्दै विभागले आफ्नो भनाइ सार्वजनिक गरेको छ । विभागका सबै सदस्यको तर्फबाट प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले आचार्यले उठाएका विषयको मसिनो ढंगले जवाफ दिएका छन ।
हेर्नुस विभागको तर्फबाट खनालले लेखेको जवाफ
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग अहिले धेरैको आकर्षणमा पर्ने विभाग हो । छोटो समयको अन्तरालमा नै यसको विकास तीब्र गतिमा भइरहेको छ । २०५८ सालदेखि वार्षिक प्रणालीमा सञ्चालित विभागको स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम २०७० सालपछि सेमेष्टर प्रणालीमा चलिरहेको छ । हाल विभागमा स्नातकोत्तर तहका दोस्रो र चौथो सेमष्टरमा १८६ जना विद्यार्थी अध्ययनरत छन् । त्रिभुवन विश्वविद्यालयले पहिलो सेमेष्टरमा नयाँ भर्नाका लागि केही दिनअघि मात्रै सूचना जारी गरेको छ ।
सन् २०१७ बाट शुरु भएको एमफिल कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो ब्याचले अध्ययन पूरा गरेका छन् भने तेस्रो ब्याचको कक्षा सञ्चालन भइरहेको छ । हाल २९ जना विद्यार्थी एमफिल तहमा अध्ययनरत छन् । यसैगरी मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डीन कार्यालयले सञ्चालन गरेको पाठ्यक्रममा आधारित पीएचडी कार्यक्रम पनि सञ्चालनमा छ । हाल यसमा १५ जना विद्यार्थी अध्ययनरत छन् । यस कार्यक्रमको भर्ना, व्यवस्थापन र शुल्क लगायतका पक्षहरू डीन कार्यालय अन्तर्गत नै पर्छन् ।

विभागले शैक्षिक कार्यक्रम र अनुसन्धान कार्यलाई अगाडि बढाउने काम गरिरहेकै छ । भौतिक पूर्वाधार विकासमा पनि तीब्र गतिका साथ काम अघि बढेको छ । त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरको हाताभित्र पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कार्य सम्पन्न भएपछि पत्रकारिता विषयको पठनपाठनलाई आधुनिक प्रविधिमैत्री बनाउन सजिलो हुने मात्र होइन, प्रयोगात्मक अभ्यासको कार्यलाई प्रभावकारी बनाउन र अनुसन्धानको दायरालाई फराकिलो बनाउन पनि आधार निर्माण हुनेछ ।
पत्रकारिता विभाग यसरी त्रिभुवन विश्वविद्यालयको ऐन, नियम, विधि र प्रक्रियाअनुसार अगाडि बढिरहेको र यस विषयप्रति आम विद्यार्थीहरूको आकर्षण बढिरहेको बेलामा विद्यार्थी तथा अन्य सरोकारवालालाई भड्काउने गरी हुने कुनै पनि गतिविधिप्रति विभाग सचेत छ । यस विभागका पूर्व तथा अध्ययनरत विद्यार्थी, प्राध्यापक, शिक्षक एवं यसप्रति सरोकार र चासो राख्नुहुने शुभचिन्तकहरू समेतले यसतर्फ ध्यान दिनुपर्ने हुन्छ । वास्तवमा आफ्नो संस्थाको गरिमा राख्न सकेमा नै आफ्नो पनि गरिमा र स्वाभिमान उच्च हुन्छ । विभागमा इमान्दार ढङ्गले काम गरेका व्यक्तिलाई अनावश्यक लाञ्छना लगाई त्रिविको समग्र पत्रकारिता शिक्षामाथि आक्रमण सह्य हुनेछैन ।
२०७६ पौष ११ गते नेपाल लाइभ डट कम मा प्रकाशित लेखमा जसरी त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागप्रति टिप्पणी गरिएको छ, त्यो नितान्त पूर्वाग्रही भावना र कुण्ठायुक्त मानसिकताभन्दा बढी केही होइन । पत्रकारिताको सामान्य सिद्धान्त र मर्यादाभित्र यस्तो लेखन पर्दैन । निश्चित व्यक्तिलाई तोकेर नितान्त व्यक्तिगत लाञ्छना र आरोप लगाउने तथा हिलो छ्याप्ने प्रवृत्ति पत्रकारिताको धर्म बाहिरको विषय हो । आरोपका लागि आरोप नै लगाउने हो भने त जसले जसलाई जे भने पनि हुन्छ । पत्रकारिता विभाग र यसमा कार्यरत जनशक्तिका विषयमा मनगढन्ते कुराहरू लेख्नुअघि विभागमा सम्पर्क गरेर यथार्थ जानकारी हासील गर्ने विकल्प खुला थियो र सदैव खुला रहनेछ ।
पत्रकारिता विषयमा स्नातकोत्तर तहमा प्रवेश गर्न न्यूनतम रूपमा सम्बन्धित विषयमा स्नातक तह पूरा गरेको हुनुपर्ने त्रिभुवन विश्वविद्यालयको पुरानै व्यवस्था हो । यस्तो व्यवस्था विभागीय प्रमुखले मात्र गर्ने होइन । त्रिविले उपयुक्त ठानेर नै यस्तो व्यवस्था लागू गरेको हो । कसैलाई यस्तो व्यवस्था अनुकूल नलागेमा सोझै स्नातकोत्तर कार्यक्रम सञ्चालन भइरहेका विश्वविद्यालयहरू पनि छन् ।
यसैगरी त्रिवि सेवा आयोगले सञ्चालन गर्ने उपप्राध्यापक, सहप्राध्यापक, प्राध्यापक लगायतका पदहरूको परीक्षाका लागि योग्यता र मापदण्डको निर्धारण कुनै पनि विभागले गर्ने होइन त्रिविले नै गर्ने हो । त्यसलाई लिएर लाञ्छना लगाउनुको अर्थ रहन्न । त्यसैगरी प्राध्यापक नियुक्ति वा बढुवाका लागि दिइने अंक ‘उधारो’ मा भयो भन्ने तर्क अज्ञानताभन्दा केही होइन । त्रिविका कुनै पनि परीक्षा निश्चित मान्यता, नियम र कार्यविधिका आधारमा हुने भएकाले यसमा प्रश्न उठाउनुको औचित्य देखिन्न ।
जहाँसम्म पीएचडीका शैक्षिक कार्यक्रमको सवाल छ, यो त्रिविको डीन कार्यालयबाट सञ्चालित हुन्छ भन्ने हेक्का समेत नराखी टिप्पणी गर्नु आधारहीन हो । पत्रकारिता विषयको हकमा पी खरेल प्राध्यापक हुनु भएपछि यस विषयमा पीएचडी शुरु भएको हो । त्रिविले पीएचडी शोध निर्देशकसम्बन्धी कार्यविधि परिवर्तन गर्दा मुख्य निर्देशकको मापदण्ड फेरेकाले यस विभागका शोधार्थीलाई पर्न गएको असुविधाबारे डीन कार्यालयलाई जानकारी गराइसकिएको छ । त्यसलाई सहजीकरण गर्न डीन कार्यालयले पहल गर्ने अपेक्षा गरेका छौं ।
जहाँसम्म विभागीय प्रमुखको निमित्त जिम्मेवारी दिने सन्दर्भ छ, विभागमा धेरै समय दिनसक्ने मध्येबाट तोकिएको हो । आवश्यकताअनुसार निमित्तको जिम्मेवारी विभागका सदस्यमध्ये जसलाई पनि दिन सकिन्छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरूमा प्रयोगात्मक परीक्षा गराउँदा वाह्य परीक्षकलाई दिइने पारिश्रमिक सम्बन्धित शिक्षण संस्थाले नै बेहोर्ने व्यवस्था गरेको छ । त्यही आधारमा वाह्य परीक्षकले पारिश्रमिक लिने गर्दछन् । यस्तो तथ्य र यथार्थलाई तोडमरोड गरी भ्रममा पार्नु अशोभनीय हो ।
पत्रकारिता विभाग न्यूनतम भौतिक पूर्वाधारबाट शुरु गरिएको विभाग हो । अहिले पनि यसको भौतिक पूर्वाधार पर्याप्त छैन । विभागमा कार्यरत प्राध्यापक, शिक्षक, कर्मचारी र यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको साथ र सहयोगमा कक्षाहरूको सहज सञ्चालन र व्यवस्थापन भइरहेको छ । भौतिक पूर्वाधार विस्तारका लागि भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ । भवन निर्माणकै विषयमा पनि आधारहीन टिप्पणी गरिएको छ, जवकि यसको प्रक्रिया त्रिवि आर्थिक व्यवस्था तथा खरीदसम्बन्धी नियमअनुसार भइरहेको छ र त्यसलाई कुनै एक व्यक्तिले लत्याउन सक्दैन ।
विभागका तर्फबाट कुनै पनि विद्यार्थीलाई अनावश्यक रूपमा मानसिक तनाव दिने, अंकका लागि बार्गेनिङ गर्ने भन्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो । जहाँसम्म यस विभागमा आवद्ध प्राध्यापकहरूको शैक्षिक उन्नयनको सन्दर्भ हो त्यो हरेकको व्यक्तिगत सवाल हो । त्रिविमा न्यूनतम योग्यता नभई कोही कुनै सेवामा प्रवेश गर्न सक्दैन । त्यसपछिका अध्ययनको विषय व्यक्तिको स्वेच्छामा भर पर्ने भएकाले कसैको दवाव वा आग्रहले प्रभाव पार्न सकिने कुरा होइन ।
त्रिवि पत्रकारिता विभागलाई कमजोर पार्न सके अन्य क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरू विस्तार गर्न सकिने लक्ष्य कसैले लिएर सुनियोजित रूपमा लाञ्छना लगाउन खोज्छ भने त्यो सह्य विषय हुँदैन । सीमित श्रोत, साधन र जनशक्ति भएकै अवस्थामा पनि विद्यार्थीको बढ्दो चापले यो विभाग कुन अवस्थामा छ, सहजै मूल्याङ्कन गर्न सकिन्छ । सुधार गर्नुपर्ने विषयप्रति विभाग सधैँ सकारात्मक छ । तर, अनावश्यक लाञ्छना र प्रतिशोध साध्ने प्रवृत्ति कुनै पनि हिसाबले प्राज्ञिक मर्यादा सुहाउने विषय होइन ।
(प्राध्यापक चिरञ्जीवी खनाल)
विभागीय प्रमुख
बोधार्थः १) प्रेस काउन्सिल नेपाल, सिनामङ्गल ।
२) मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालय, त्रिभुवन विश्वविद्यालय, बल्खु ।
प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार २१:२२












