१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

सरकार छाड्ने तयारीमा उपेन्द्र यादव !

६ मंसिर, काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टी नेपाल सरकार छाड्ने तयारीमा छ । भारत भ्रमणमा रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उनले सम्हालिरहेको स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा सरुवा गरेपछि सरकार छाड्ने मनस्थितिमा समाजवादी पार्टी पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्दा उपेन्द्र यादवसँगै उनको पार्टीका सबैलाई सरकारबाट आउट गर्ने मनस्थिति बनाए पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्यबाट कानुनमा सरुवा गर्दा बेस हुने सुझाएपछि उपेन्द्रको मन्त्रालय परिवर्तन गरिएको थियो । आफूसँग सल्लाहै नगरी वीर अस्पतालमा उपचार गराइरहेका राज्यमन्त्री सुरेन्द्र यादवलाई बर्खास्त गरेको र उपेन्द्रलाई कानुन मन्त्रालयमा सरुवा गरेसँगै उनको पार्टी प्रधानमन्त्रीसँग रुष्ट बनेको हो । प्रधानमन्त्री ओली पनि उपेन्द्र र उनको पार्टी सरकारबाट बाहिरियोस् नै भन्ने मनस्थितिमा पुगेको अवस्था छ । यदि उपेन्द्र सरकारबाट बाहिरिए उनकै पार्टीका अर्का मन्त्री मोहम्मद इस्तियाक राई पनि बाहिरिने पक्का छ । यसपछि के गर्ने भनेर प्रधानमन्त्री ओलीले मनस्थिति बनाइसकेको अवस्था छ ।

उपेन्द्रजस्तै सत्ता नभई नहुने राजपाका नेता राजेन्द्र महतोलाई सरकारमा भित्र्याउने या अरु विकल्प गर्ने यो तयारी ओलीले गरिसकेका छन् । स्रोतका अनुसार राजपा सरकारमा आए उपेन्द्र र उनको पार्टीले सम्हालेको मन्त्रालय उनैलाई दिने नभए आफ्नै पार्टीका नेतालाई पदस्थापना गर्ने प्रधानमन्त्रीको तयारी छ ।

यदि राजपा सरकारमा सामेल नभएको खण्डमा उपेन्द्रका लागि छुट्याइएको कानुन मन्त्रालय उपसभामुखबाट राजीनामा गराई शिवमाया तुम्बाहाम्फेलाई दिने र मोहम्मद इस्तियाक राईको जिम्मामा रहेको मन्त्रालयलाई भने महेश बस्नेतको जिम्मा लगाउने बालुवाटरको तयारी छ ।

उसो त अहिले उपेन्द्र भारत भ्रमणमा छन् । सरकार छाड्ने या नछाड्ने निर्णय गर्नकै लागि पनि उनी आज हतार-हतार नेपाल आउने तयारीमा छन् ।

स्रोतका अनुसार उपेन्द्र आज नेपाल आएसँगै सरकार छाडेको घोषणा या प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् । यो सँगै प्रधानमन्त्रीले समाजवादी पार्टीले ओगटेर राखेको दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्नेछन् । अस्ति (बुधबार) प्रधानमन्त्री ओलीले ९ मन्त्री परिवर्तन गर्दै उपेन्द्रको मन्त्रालय हेरफेर गरिदिएका थिए ।

२०७५ जेठ २२ गते तत्कालीन संघीय समाजवादी फोरम नेपालले सरकारसँग दुईबुँदे सहमति गरी सरकारमा सामेल भएको थियो । सरकारमा रहेकै बेला तत्कालीन फोरम र तत्कालीन नयाँ शक्तिबीच पार्टी एकीकरण भएको थियो । त्यसपछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको थियो ।

प्रकाशित मिति : 08:50