१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

१० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउने सरोकारवालाकाे प्रतिबद्धता

१० भदौ, सुर्खेत । स्थानीय सरकारको सहयोगमा बृहत् विद्यालय सुरक्षा कार्यविधि कार्यान्वयन गरी १० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । दुई दिने ‘बृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थी मैत्री भेला’ मा सरोकारवालाले भूकम्पीयलगायतका सबै प्रकारका जोखिम न्यूनीकरण गर्न सुरक्षित विद्यालय निर्माणलाई जोड दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न भेलाले बृहत् विद्यालय सुरक्षा क्लब गठन गर्ने प्रतिबद्धता गरेको छ । भेलाले विपद् जोखिम व्यवस्थापनसम्बन्धी व्यावहारिक पाठ्यक्रम र पाठ्ययपुस्तक निर्माण गर्ने, तीनवटै तहका सरकारलाई भूकम्प प्रविधिमैत्री विद्यालय निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राख्न दबाब दिने र विद्यालय सुरक्षा कार्ययोजना अनिवार्य लागू गर्नेलगायतका प्रतिबद्धता जनाइएको छ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले विद्यालयलाई सबै खाले जोखिमबाट सुरक्षित बनाउन विद्यालयको बीचमा ज्ञान अनुभवको आदानप्रदान गर्ने, सुरक्षित विद्यालयका बारेमा विद्यमान नीति–नियम, निर्देशन, कार्यविधिका सम्बन्धमा छलफल गर्ने उद्देश्यले भेला उपयोगी रहेको बताउनुभयो ।

जापानको कोवे शहरस्थित माइको हाइस्कूलका १४ शिक्षक/विद्यार्थीसहित नेपालका कर्णाली र प्रदेश ५ का १९ जिल्लाका २८ वटा विद्यालयबाट गरी ८५ जनाको सहभागिता थियो । त्यस्तै, विभिन्न सङ्घ–संस्थाबाट ४० जना विज्ञको भेलामा प्रतिनिधित्व रहेको थियो ।

प्रकाशित मिति : August 27, 2019 at 12:07 pm