गृह मन्त्रालयले गर्यो एनप्याब्सनलाई निलम्बन
१३ कात्तिक, काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयले निजी विद्यालय सञ्चालकहरूको संस्था ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल’ (एन-प्याब्सन) लाई निलम्बन गरेको छ। मन्त्रालयले दिएका निर्देशनहरूको निरन्तर अवज्ञा गरेको तथा स्वीकृत विधानविपरीत गतिविधि गरेको ठहर गर्दै एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको हो।

गृह मन्त्रालयद्वारा जारी ‘संगठन निलम्बनसम्बन्धी सार्वजनिक सूचना’ अनुसार ‘राष्ट्रिय निर्देशन ऐन, २०१८’ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको जनाइएको छ। गृह मन्त्रालयका अनुसार एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐनअन्तर्गत मन्त्रालयबाट जारी भएका निर्देशनहरू पटक-पटक पालना नगरेको पाइएको छ। त्यस्तै, संस्थाका पदाधिकारीबाट सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधि भएको समेत मन्त्रालयको ठहर छ।
यस विषयमा मन्त्रालयले गत असोज २३ गते सरोकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न एन-प्याब्सनलाई आग्रह गरिएको थियो।

प्रकाशित मिति : October 30, 2026 at 3:55 pm










