११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

सिंगापुरमा प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परिक्षण र क्षमता अभिवृद्धिको उपचार हुने

५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर  अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको जनाएकी छिन ।  “एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो ”डा.सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परिक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तीमा जनाइएको छ । सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा.सिंहले जनाएकी छिन ।

“प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ” डा सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ । अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : 14:17