सङ्घीयता, गणतन्त्र, संविधानको पक्षमा चार दल एकताबद्ध, प्रधानमन्त्री ओलीको प्रयास सार्थक
-शरद शर्मा
३ भदाै, काठमाडाैँ । प्रमुख राजनीतिक दलहरु सङ्घीयता, गणतन्त्र, लोकतान्त्रिक व्यवस्था र संविधानको पक्षमा एकताबद्ध भएर अगाडि बढ्ने भएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारमा बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी दलका शीर्ष नेताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको भन्दै एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

“गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एउटा वा अर्को कोणबाट प्रहार भइरहेको स्थिति छ । त्यसलाई क्षतविक्षत गर्ने प्रत्यन गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसको निम्ति सङ्घर्ष गर्न सबै राजनीतिक पार्टीबीच एकताबद्ध र सझादारीका साथ भएर अगाडि बढ्ने सहमति भएको छ ।” प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा बाबुराम भट्टराईसहित अन्य नेताले गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि ऐक्यबद्धता जनाएका छन् ।
“उहाँहरुले यसमा कहिकतैबाट प्रहार भयो भने हामी सहँदैनौँ । हामी सरकार र नेकपासँग एकताबद्ध छौँ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो । बैठकमा प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्नेमा जोड दिँदै देशमा फेरि कुनै प्रकारको हिंसात्मक गतिविधि हुन नदिने बताउनुभएको थियो । हिंसात्मक गतिविधिलाई प्रोत्साहित गर्न नहुने प्रधानमन्त्रीको भनाइ थियो ।
“बैठकमा प्रधानमन्त्रीले देशमा हिंसात्मक गतिविधि हुन नदिनका लागि पनि सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्दछ । मुलुक शान्ति प्रक्रियामा आइसकेपछि कुनै पनि कोणबाट फेरि हिंसालाई उठ्न दिनु हुँदैन”, बैठकपछि प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “हामी सबैले हिंसा अन्त्य गर्नुपर्छ, दीर्घकालिन शान्तिका लागि एकताबद्ध हुनुपर्दछ ।”

संविधान र कानून विरोध गतिविधिलाई जसरी भएपनि नियन्त्रण गर्नुपर्ने निष्कर्ष निकालिएको भन्दै आवश्यक परे वार्तामार्फत समस्याको समाधान गर्नुपर्दछ भन्नेमा सबै दल सहमत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले राजनीतिक पार्टीबीचमा दूरी कम गर्न, समझदारी र सहकार्यको प्रक्रियाबाट फेरि अगाडि बढ्ने उद्देश्यले यो बैठकको आयोजना गरिएको बताउनुभयो । उहाँले बुधबार शान्ति प्रक्रियालाई केन्द्रित गरेर पुनः सर्वदलीय बैठक बस्ने जानकारी गराउनुभयो ।
काङ्ग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्री भइसकेपछि पहिलो पटक सर्वदलीय बैठक बोलाउनुभएकाले सकारात्मक रुपमा आफूहरुले लिएको बताउनुभयो । “बैठकमा प्रधानमन्त्री गम्भीर भएर प्रतिपक्षको आशय अपेक्षासहित आफ्नो विचार राख्नुभयो । उहाँले राखेका विषयलाई हामीले सकारात्मक रुपमा लिएका छौँ” उहाँले भन्नुभयो, “राजनीतिक परिस्थितिका बारेमा सबै गम्भीर हुनुपर्दछ । राजनीतिक व्यवस्थामा आएको परिवर्तनले मुलुकलाई अगाडि लैजान सकिन्छ भन्ने विश्वास आजको सहमतिबाट देखिन्छ ।”
संविधान, लोकतान्त्रिक गणतन्त्र, संसदीय शासन व्यवस्थाका माध्यमबाट मुलुकलाई अगाडि बढाउन सत्ता पक्ष गम्भीर भएका लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई छिटोमा टुङ्गोमा पु¥याउनुपर्दछ भन्ने आजको निष्कर्ण रहेको भन्दै बुधबार नै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयन गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गरिने बताउनुभयो ।

बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक सङ्घर्षमार्फत यो मुलुकमा संविधान ल्याएको भन्दै लोकतन्त्रप्रति सङ्घीयता, राज्य व्यवस्थामा सबै राजनीतिक दल इमान्दारितापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपाका सचिवालय सदस्य झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय अध्यक्ष भट्टराईसहित राजपाका नेता महन्थ ठाकुरसहित चार दलका नेताको सहभागिता रहेको थियो । रासस
प्रकाशित मिति : 22:58









