१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

कर्णाली प्रदेश जोड्ने सबै सडक एक वर्षभित्र कालोपत्रे गर्ने आर्थिक मामिलामन्त्री ज्वालाको उद्घोष

१५ साउन, सल्यान । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एक वर्षभित्रमा कर्णाली प्रदेश जोड्ने सडक कालोपत्र हुने दाबी गर्नुभएको छ । श्रीनगर खलङ्गा हँुदै बालुवा सङ्ग्रहीसम्मको करीब ३८ किलोमिटर सडक चालु आर्थिक वर्षभित्रमा कालोपत्र हुने उहाँले बताउनुभएको हो । शारदा नगरपालिका–४ लामाडाँडामा स्थापना भएको शहीद नेत्रलाल अभागी प्रतिष्ठानको दुई कोठे भवनको आज शिलान्यास गर्दैै मन्त्री ज्वालाले राजधानी जोड्का लागि रु नौ करोड रकम विनियोजन भएको जानकारी दिनुभयो ।

“अहिले खलङ्गाबाट– ८ किलोमिटर सडक वटाशिल गरिएको छ । बाँकी सडक पनि चालु आर्थिक वर्षमा पूरा भएर पक्की सडकले राजधानी जोडिने छ ।” ज्वालाले भन्नुभयो । यस्तै राप्ती लोकमार्गको दाङ, सल्यानखण्ड दुई लेनसहित स्तरोन्नतिका लागि रु एक अर्ब विनियोजन भएको जानकारी दिनुभयो । “राप्ती लोकमार्गको दाङ, सल्यानखण्डको तुलसीपुरदेखि श्रीनगरसम्म दुई लेन हुनेगरी बोलपत्र आह्वान यही महीनामा हुँदैछ, मदन भण्डारी लोकमार्ग पनि सल्यानको श्रीनगरलाई जोड्ने छ, जिल्लाको लागि यी गौरवको आयोजना हुन ।” मन्त्री ज्वालाले भन्नुभयो ।

मन्त्री ज्वालाले अर्को प्रसङ्गमा आफूले चुनाव जित्नु भन्दा प्राविधिक शिक्षालयको स्वीकृति लिन गाह्रो भएको बताउनुभएको छ । सल्यानमा प्राविधिक शिक्षालय स्थापना गर्न फलामका च्युरा चपाउनु सरह भए पनि सबैको सहयोगले जिल्लामा प्राविधिक शिक्षालय स्थापना गरिएको बताउनुभयो । जिल्लाबाट प्राविधिक शिक्षा हासिल गर्नका लागि जिल्ला बाहिर जाने बाध्यता अन्त्य भएको शहीद नेत्रलाल अभागी प्राविधिक शिक्षालयका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बताउनुभयो ।

“ यस प्राविधिक शिक्षालयमा गत वर्षदेखि सिभिल इञ्जिनीयर र पशुसेवा प्राविधिकको पढाइ शुरु गरिएको छ, आवश्यकता अनुसार स्वास्थ्य विज्ञानको पनि पढाइ शुरु गर्ने लक्ष्य छ ।” अध्यक्ष न्यौपानेले भन्नुभयो । शिक्षालयले हाल भाडामा कक्षा सञ्चालन गरिरहेको शिक्षालयका प्राचार्य कुलवीर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 20:58