पहिरोका कारण शोकमा गुल्मीः प्रदीप ज्ञवाली प्रभावित क्षेत्रमा, राहतमा जुट्न गोकर्ण विष्टको अपिल
७ साउन, गुल्मी। पहिरोका कारण गुल्मी शोकमा डुबेको छ । अविरल वर्षाका कारण गुल्मीमा गएकाे पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । पहिरोमा पुरिएका १३ जनामध्ये मंगलबार साँझसम्म ९ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका भनिएका थप चार जना अझै बेपत्ता रहेको र उनीहरुको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिएका छन । पहिरोका कारण झण्डै चार सय परिवार विस्थापित भएका छन ।

पहिरोका कारण जिल्ला नै शोमा डुबेपछि परराष्ट्रमन्त्री मन्त्री कुमार ज्ञवाली नेपाली सेनाको हेलिकोप्टरमा मंगलबार सँझ गुल्मी अाएका छन । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख ईन्दु घिमिरे र डाक्टरसहितको टोली लिएर मंगलवार बेलुकी ६ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा ज्ञवाली पुगेका हुन । मन्त्री ज्ञवालीले पहिरो प्रभावित क्षेत्रमा पुगेर घटनाको निरीक्षण गरी घटनाको जानकारी समेत लिएका छन ।
ज्ञवालीले पहिरोमा आफन्त गुमाएका परिवारलाई समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन । मन्त्री ज्ञवालीले विपद्को यस घडीमा सबै जना सतर्क भएर बस्न र उद्धार कार्यमा जुट्न आग्रहसमेत गरेका छन । यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले एक विज्ञप्ति मार्फत दुःख प्रकट गरेका छन । पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री विष्टले घाइतेको उपचार र राहतमा जुट्न अपिल गरेका छन । यस्तै गुल्मी क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य एवं ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल पनि राहत सामग्रीसहित मंगलबार बेलुका नै पहिरो प्रभावित क्षेत्रमा पुगेका छन ।

जिल्लाको सत्यवती गाउँपालिका–३, अन्तर्गत ठूलो लुम्पेक र वडा नम्बर ४, लिम्घामा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेहरुमा सत्यवती गाउँपालिका–३, सिनथलाकी ३१ वर्षीया तिलकुमारी तरामु, उहाँका ७ वर्षीय छोरा दर्शन तरामु, ६३ वर्षीय दुर्गाबहादुर सिंजालीको ज्यान गएको हो । त्यस्तै लिम्घा भिरखानीमा गएको पहिरोमा परि १२ वर्षीया अञ्जली विक, १० वर्षीय हेमन्त विक, ३० वर्षीया पम्फु विक, ६५ वर्षीया छल्दली विक, ८ वर्षीया सिवानी विक, ४५ वर्षीया निर्मला विकको ज्यान गएको छ । पहिरोमा पुरिएर ठूलो लुम्पेक सिग्दीकी ४० वर्षीया माया विक, १६ वर्षीया गबी विक, कसिनथला निवासी ८ वर्षीया तारा विक र ४ वर्षीय सुमन विक पहिरोमा पुरिएर हराइरहेका छन् । तस्बीरहरूः सुदन ज्ञवाली ।


प्रकाशित मिति : 22:32









