१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको शानदार जित

९ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। उत्कृष्ट बलिङपछि आक्रामक ब्याटिङ गरेको लुम्बिनीले सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको हो।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीका बलरसामु टिक्न नसक्दा १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो। सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले सहजै जित निकाल्दै गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको संयोगलाई यसपटक पनि निरन्तरता दिएको छ।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्ट र आसिफ शेखले आक्रामक ब्याटिङ गरे। पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका यी दुईले टोलीलाई जितको बलियो आधार तयार पारे।

सर्टले १८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४० रन बनाए। उनी अनिल खरेलको बलमा शेरफेन रदरफोर्डबाट क्याच आउट भए। आसिफले २५ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान गरे। उनी पनि खरेलको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए।

त्यसपछि निरोशन डिकवेला ७ रन बनाएर दीपेन्द्रको बलमा बोल्ड भए। तर, कप्तान रोहितकुमार पौडेल र शमीम हुसेनले अविजित रहँदै लुम्बिनीलाई जितसम्म पुर्‍याए। रोहितले ५ र शमीमले १ रन बनाए।

सुदूरपश्चिमका लागि अनिल खरेलले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

यसअघि सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्ने क्रममा लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गरे। किशोरले ४ तथा शेरले ३ विकेट लिएपछि सुदूरपश्चिम ठूलो योगफल बनाउन असफल भयो। कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले पनि एक–एक विकेट लिए।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १७ रनमा अविजित रहे भने सैफ जैबले १३ र विनोदले ९ रन जोडे। इशान पाण्डेले ७ तथा ब्रान्डन म्याकमुलेनले २ रन बनाए। शेरफेन रदरफोर्डले १ रन जोड्दा स्कट कुगेलेइन र हेमन्त धामी खाता नखोली आउट भए।

खेलमा नेपालमा पहिलोपटक प्रयोग गरिएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस) पनि चर्चामा रह्यो। दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लुका लागि गरेको अपिल अम्पायरले अस्वीकार गरेपछि कप्तान रोहित पौडेलले डीआरएस लिएका थिए। तर, रिभ्यूमा लुम्बिनीको निर्णय सही ठहरिएन।

साविक विजेता लुम्बिनीले बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गर्दै उपाधि रक्षाको अभियान सुखद रूपमा सुरु गरेको छ। अघिल्लो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराएर च्याम्पियन बनेको लुम्बिनीले नयाँ सिजनको पहिलो खेलमै त्यही प्रतिद्वन्द्वीमाथि सानदार जित निकालेको हो।

प्रकाशित मिति : October 26, 2026 at 8:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/