६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न २३ जना काँग्रेसलाई कारवाही

६ साउन, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं सङ्घीय संसद्को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न थप २३ जनालाई कारवाही गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले आज पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई पार्टीको विधानबमोजिम कारवाही गरेको जनाएको छ ।

समितिले सोलुखुम्बुमा २०, रौतहटमा दुई र दैलेखमा एक जना त्यस्ता नेताकार्यकर्तालाई कारवाही गरेको संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयो । साथै समितिले गत असार ३ गतेको निर्णयबमोजिम कारवाही गरिएका व्यक्तिलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन गरेको उहाँले बताउनुभयो ।

समितिले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी भएकाहरुको नामावली हालसम्म समितिमा पठाउन बाँकी जिल्लालाई तत्काल नामावली पठाउनसमेत निर्देशन दिएको छ ।

समितिले यसअघि पहिलो चरणमा २३५ र दोस्रो चरणमा ४० जना नेताकार्यकर्तालाई कारवाही गरिसकेको छ । विसं २०७४ को प्रदेशसभा एवं सङ्घीय संसद्को निर्वाचनमा नराम्रो पराजय व्यहोरेको काँग्रेसले पार्टीभित्रकोे अन्तरघातलाई एक प्रमुख कारण मानेको छ ।

प्रकाशित मिति : July 22, 2019 at 6:34 pm