मिडियाले व्यवसायिकताको अनुशरण गर्न नसकेको सम्पादकहरूले स्वीकार गरे, सुधारको प्रतिवद्धता
१६ असार, काठमाडौँ । मिडियाले व्यवसायिकताको अनुशरण गर्न नसकेको स्वयं सम्पादकहरूले नै स्वीकार गरेका छन । पछिल्लो समय पत्रकारिता र पत्रकारको विषयमा अनेक ढंगका बहस र प्रचारहरू भैरहेको अवस्थामा आइतबार काठमाडौँमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले विभिन्न सञ्चारमाध्यमका प्रमुख, सम्पादक तथा पत्रकारिताका अध्यापकको विषयमा भएको अन्तरक्रियामा सम्पादकहरूले नै मिडियाले व्यवसायिकताको अनुशरण गर्न नसकेको बताउँदै सुधारको निम्ति प्रतिबद्धता जनाए ।
सम्पादकहरूले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र विश्वसनीय बनाउन नियमितरुपमा आफ्ना प्रकाशित सामग्रीको समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । सहभागी सम्पादक र अन्य सरोकारवालाले पत्रकारिता क्षेत्रले आफ्ना कमजोरी पहिल्याउने, सच्याउने, सत्यतथ्य खुलासा गर्ने र धर्म नछाड्ने हो भने पाठकप्रतिको इमान्दारिता हुने बताए ।

विभागका प्रमुख चिरञ्जीवी खनालले पत्रकारिता शिक्षा, यसको अभ्यास र पाठकको प्रतिक्रियामा आधारित भएर निरन्तर छलफलको शृङ्खला चल्नुपर्ने बताउँदै पत्रकारिताका अभ्यासकर्ता पनि आत्मसमीक्षाका लागि तत्पर भइरहनु सकारात्मक हुने बताए । मिडियाहरूले व्यवसायिकता फलो नगरेको र अझै खरो रूपमा ख्याल गर्नुपर्ने कुरा छलफलमा उठेको भन्दै सरोकारावालाले यसतर्फ ध्यान पुर्याउनुपर्ने बताए । प्रमुख खनालले सामाजिक सञ्जालको प्रभाव सीधा मिडियाम परेकोले मिडियाको व्यवसायिकता सुधारका निम्ति अझै काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष श्यामल अधिकारीले गल्ती गरिरहने तर नसच्चिनेका लागि यस्ता छलफल महत्वपूर्ण अवसर हुने जनाउँदै पत्रकारिता क्षेत्र धमिलो हुनामा यस क्षेत्रका गुरु वा प्रशिक्षक पनि जिम्मेवार रहेको बताए । उनले भने, “अहिले पत्रकारको सङ्ख्या बढ्दो तर पत्रकारिताको गुणस्तर घट्दो छ । मूलधारका कतिपय सञ्चारमाध्यमले समाजका सरल कथालाई जटिल बनाउँदै लगेका छन् । पत्रकारले व्यापारलाई सबैभन्दा ठूलो शक्ति ठानेर मालिकको कामदारका रुपमा काम गरिरहेका छन् ।”
बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधानले नेपाली पत्रकारिताको प्रतिष्ठा गिर्दै गएकोमा चिन्ता व्यक्त गर्दै पत्रकार तथा पत्रकारिताका गुरुहरु सबैसंगै बसेर इमान्दरीपूर्वक समीक्षा गर्नु पर्ने बताए । पत्रकार नारायण वाग्लेले नेपालमा पत्रकारिताका कमीकमजोरी औंल्याएर समयमै सजग गराउन आवश्यक पर्ने प्राज्ञिक जर्नलको अभाव रहेको कुरामा जोड दिए । उनले पत्रकारिताको विजिनेस मोडलका बारेमा पनि चिन्तन हुनुपर्ने बताए ।

पत्रकारिताका अध्यापक पी खरेलले सञ्चारमाध्यममा आफ्ना सामग्रीको नियमित समीक्षा हुनुपर्ने र सञ्चार सामग्रीबारे अनुसन्धानमूलक जर्नल प्रकाशन हुनुपर्ने सुझाव दिए । उनले कुनै पनि पक्ष वा शक्तिको प्रभावका आधारमा लेखिएका समाचार प्रयोग नहोस् भन्नेतर्फ सम्पादक सचेत हुनुपर्नेमा जोड दिए । अर्का प्राध्यापक प्रबलराज पोखरेलले सञ्चारमाध्यमले सार्वजनिक जनचासोका विषयलाई न्याय गरिरहेका छौँ कि छैनौँ भन्ने समीक्षा हुनुपर्ने बताए ।

खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले पत्रकारिताले शक्ति र सत्तामाथि प्रश्न गर्न सक्नुपर्ने र आफूमाथि उठेका प्रश्नमा इमान्दार भई सामना गर्न सक्नुपर्ने जनाउँदै सत्यतथ्यलाई इमान्दारिताका साथ पस्कनुपर्ने बताए । रेडियोकर्मी रघु मैनालीले पत्रकारिताले संविधानमा विशेष अधिकार माग्ने अनि व्यवहारमा भोजनअनुसारको भजन गाउने हो भने जनताका लागि के फाइदा भयो भन्ने प्रश्नका आधारमा समीक्षा गर्न आग्रह गरे ।

छलफलमा नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक कपिल काफ्ले, राजधानी दैनिकका सागर पण्डित, पत्रकार विनोद भट्टराई, जगदीश पोखरेल, प्रतीक प्रधान, अखिलेश उपाध्याय, टीकाराम यात्री, राजु सिलवाल, विश्वविद्यालयका मानवशास्त्र, कानून, लैङ्गिक र भूगोललगायत विभिन्न केन्द्रीय विभागका प्रमुख सहभागी भएका थिए ।
प्रकाशित मिति : 11:48









