१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सरकारी कर्मचारी र शिक्षकले छोराछोरी अनिवार्य सरकारी स्कुलमै पढाउनुपर्छः सञ्चारमन्त्री बास्कोटा

१४ असार, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र पाँच लाख नेपालीका लागि रोजगारी सिर्जना भइसक्ने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित २ र ३ नं वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यक्रमलाई आज कुशादेवीमा सम्बोधन गर्दै भन्नुभयो, “तपार्इंहरु ढुक्क हुनुहोस्, आउँदो पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना हुन्छ ।”

मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारले २० हजार जनशक्तिलाई रोजगारी दिलाएको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र पाँच हजार किलोवाट बिजुली उत्पादन गरी छिमेकीलाई प्रशस्त मात्रामा बिक्री गर्न सकिने दाबी गर्नुभयो । “पाँच वर्षभित्र सबै नेपाली जनताले विकास पनि देख्नेछन्, अहिले सुखी नेपाली र समृद्ध नेपालको बाटो तय गरिएको छ”, उहाँले भन्नुभयो । उहाँले आगामी सन् २०३० भित्र प्रतिव्यक्ति नेपालीको वार्षिक आम्दानी १२ हजार ५०० डलर पुग्ने पनि दाबी गर्नुभयो ।

मन्त्री बाँस्कोटाले पृथ्वी र मानिसको रक्षा आजको आवश्यकता भएको बताउँदै भन्नुभयो, “हामीले नयाँ पुस्तालाई धनी मात्र होइन, इमान्दार नेपाली बन्न सिकाउनुपर्छ, श्रम गरेर आम्दानी भएको आर्थिक लाभले मात्रै सुख आर्जन गर्ने हो ।” सडकको विषयमा चिन्ता नगर्न आग्रह गर्दै माकुराको जालोसरह सडक निर्माण हुने र अर्को वर्षदेखि स्तरोन्नति गर्दै लगिने उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले विकासका सूचकहरु सडक मात्रै नभएकाले कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र रोजगारीमा विशेष जोड दिइरहेको उल्लेख गर्नुभयो ।  मन्त्री बाँस्कोटाले ‘क्लिन फिड’मा आफू कुनै पनि हालतमा पछि नहट्ने दृढता व्यक्त गर्नुभयो । “क्लिन फिडका विषयमा मरे पनि पछि हट्दिनँ, यो योजना सफल बनाएरै छाड्छु ।” उहाँले यथास्थितिवादीले सरकारको विरोध गरिरहे पनि आफूहरु अविचलित काममा दत्तचित्त रहेको दोहो¥याउनुभयो ।

मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा सरकारी कर्मचारी तथा शिक्षकले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नैपर्ने बाध्यकारी निमय बनाइने बताउँदै निजी विद्यालयमा पैसा तिरेर शिक्षा महङ्गो भयो भन्नु गलत हो भन्नुभयो । “झोलाभरि पैसा बोकर निजी विद्यालय जाने, अनि शिक्षा महङ्गो भो भन्ने, सामुदायिक विद्यालयमा निःशुल्क पढाउनुस्, कस्ले पैसा माग्छ र” उहाँले भन्नुभयो । प्रदेश सभासदस्य बसुन्धरा हुमागाईंले सरकारले जनताको भावनाविपरीत कुनै पनि काम नगर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नपा प्रमुख अशोक ब्याञ्जु, प्रदेश विकास परिषद् सदस्य कुमार थापा, पत्रकार महासङ्घ जिल्ला अध्यक्ष मोतीराम तिमल्सिना, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, पनौती नगर बाल सञ्जालका अध्यक्ष सरिता सापकोटाले पनौती नपाले आफ्ना दुई वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरेकामा खुशी व्यक्त गरेका थिए । सो अवसरमा नपा कार्यालयले दुई वडालाई रु पाँच÷पाँच लाख पुरस्कारले सम्मान गरेको थियो ।

यसअघि मन्त्री बाँस्कोटाले आजै धुलिखेल नपास्थित पर्यटकीय देवीस्थानडाँडामा निर्माण गरिने उद्यानको शिलान्यास गर्नुभएको छ । रु पाँच करोडको डिपिआर तयार भएको उक्त उद्यानका लागि हाल प्रदेश नं ३ सरकारले रु एक करोड र धुलिखेल नपाले रु एक करोड बजेट छुट्याएको छ । मन्त्री बाँस्कोटाले आजै पाँचखाल नगरपालिका–५ स्थित जनउद्धार प्राथमिक विद्यालयको १२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै शिक्षकले राजनीतिमा अधिकांश समय खर्चिदा सामुदायिक विद्यालयको गुणस्तर खस्केको बताउनुभयो ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार २१:३४