१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

बामदेव गाैतमको कमाण्डमा असार १४ गते नेकपाले देशैभर रूख रोप्ने, कांग्रेसजन ट्वाँ

११ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा देशब्यापी रुपमा बृक्षरोपन गर्ने भएको छ । सरकारले अघि सारेको बृक्षरेपनको नीतिलाई सघाउन नेकपाले आफ्ना सवै नेता कार्यकर्तालाई अनिवार्य रुपमा बृक्षरोपन गर्न निर्देशनसमेत दिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले निर्देशन पत्र नै पठाएर असार १४ बाट सुरु हुने बृक्षरोपनमा अनिवार्य रुपमा सहभागी हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।  प्रधानमन्त्री ओली नेतृत्वको सरकारले असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपन दिवस घोषणा गरेको छ । सोही घोषणाअनुसार नेकपाले पार्टीका हरेक सदस्यलाई बृक्षारोपनमा अनिवार्य सहभागी हुन निर्देशन दिएको हो ।

‘आगामी असार १४ गते नेकपाका आम कार्यकर्ता, पार्टी सदस्य एवं समर्थक, शुभचिन्तक सवैलाई यस बृक्षारोपन कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन, आफ्नो नीजि घर जग्गा र सार्वजनिक स्थलमा समेत न्यूनतम दुई ओटा बिरुवा रोप्न, आफूले रोपेको बिरुवाहरुको भविश्यमा पनि आवश्यक हेरचाह गर्न र यस अभियानलाई सघाउ पुर्याउन अनुरोध छ,’ अध्यक्षद्वय ओली प्रचण्डको निर्देशनमा भनिएको छ ।

यस्तै आज नेकपाका २२ ओटै जनसंगठनहरुले पार्टीको निर्देशनलाई कार्यान्वयन गर्न पहलकदमी लिएका छन । नेकपाका सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा आज आयोजित पार्टीका २२ ओटै जनवर्गीय संगठनहरुको संयुक्त भेलाले नेपाल सरकारले घोषणा गरेको वृक्षारोपण वर्षलाई सफल पार्नका निम्ति असार १४ गते वृक्षारोपण कार्यक्रममा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ ।

यसैबीच अाफ्नो चुनाव चिन्हको संरक्षका निम्ति जनताकोबीचमा खास काम गर्न नसकीरहेको नेपाली कांग्रेसका नेता कार्यकर्ता नेकपाको यो निर्णयबाट ट्वाँ परेका छन । पार्टी नेतृत्वले चुनाव चिन्ह रूख जोगाउन (मतदानको समयमा लागि जनताको मनमा बस्न नसकेको) का निम्ति कामै गर्न नसकिरहेको अवस्थामा नेकपाले वातावरणको संरक्षणका  लागि रूख रोपेर झनै राम्रो काम गरेपछि पार्टीको अलिकति भएको साख पनि गिर्ने भन्दै उनीहरू चिन्तित भएका हुन ।

प्रकाशित मिति : 20:57