५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

तनहुँको भानु नगरपालिकामा महिलालाई बिर्के टोपी बनाउने तालीम

११ असार, तनहुँ । तनहुँको भानु नगरपालिकाले महिलालाई बिर्के टोपी (भानुभक्तीय) बनाउने तालीम प्रदान गरेको छ । आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण भएको भानु नगरपालिकाले नगरका महिलाले बिर्के टोपी उत्पादन गरुन् भन्ने उद्देश्यले आजदेखि तालीम प्रदान गरेको हो । असार १ गतेदेखि नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई बिर्के टोपी अनिवार्य गरिसकेको छ । सिलाइकटाइमा रुचि भएका र आर्थिक रुपमा विपन्न महिलालाई छनोट गरेर बिर्के टोपी बनाउन तालीमको व्यवस्था गरिएको नगरपालिकाका उपप्रमुख आशा थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दमौलीस्थित निखिल ढाका उद्योगमा सञ्चालित एक हप्ते तालीममा भानु नगरपालिका–१ देखि ६ सम्मका ६ महिला सहभागी छन् । “महिला लक्षित कार्यक्रममार्फत् तालीम प्रदान गरेका छौ,” उपप्रमुख थापाले भन्नुभयो, “यसले महिलालाई आत्मनिर्भर बनाउन र भानुमै बिर्के टोपी उत्पादन गर्न सहयोग पुग्नेछ ।”

तालीमपछि मेसिन नगरपालिकाले उपलब्ध गराउने नगरप्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । हाल बाहिर बिर्के टोपी खरीद गर्दा महँगो पर्ने र भानुमै यसको उत्पादन गर्न सकिए सरल मूल्यमा पाउन सकिने भएकोले तालीममा जोड दिइएको गौलीले बताउनुभयो ।

नगरपालिकाभित्र हुने हरेक कार्यक्रममा बिर्के टोपी उपहारस्वरुप दिने योजना नगरपालिकाले बनाएको छ । असार १ गतेदेखि नगरपालिकाका कर्मचारीले बिर्के टोपी लगाउन शुरु गरिसकेका छन् । नगरपालिकाका सबै वडाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई समेत सो टोपी अनिवार्य गर्ने तयारी गरिएको प्रमुख गौलीले जानकारी दिनुभयो । “राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउनुका साथै प्रचारप्रसारका लागि बिर्के टोपी अभियान शुरु गरेका हौ,” गौलीले भन्नुभयो ।रासस

प्रकाशित मिति : 19:26