१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विद्यालयका प्रधानाध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा

९ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रत्नकन्या आधारभूत विद्यालय सिर्सिया रौतहटका प्रधानाध्यापक राकेशकुमार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी स्रोतबाट प्राप्त भएको रु एक लाख ५६ हजार १९३ बराबरको भ्रष्टाचार गरेको अभियोग सिंहमाथि लागेको आयोगले जनाएको छ । विद्यार्थीको सङ्ख्या थपघट गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याएको आरोपसमेत सिंहमाथि लागेको छ ।

यस्तै इलाका प्रहरी कार्यालय रन्यौला रुपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले सेवाग्राहीसँग रु १५ हजार घूस मागेको अभियोगमा विशेष अदालतमा आजै मुद्दा दायर गरिएको छ । नियमानुसार प्रक्रिया पूरा गरी ट्र्याक्टरबाट नदीजन्य पदार्थ ढुवानी गरिरहेका बेला सेवाग्राहीसँग बस्नेतले घूस मागेको आयोगले जनाएको छ ।

त्यस्तै सिराहाको साबिक राघोपुर गाविसमा रहेको निम्न माविमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको रु चार लाख ६१ हजार ८८ बराबरको रकम दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भवन निर्माणका लागि प्राप्त भएको रकम दुरुपयोग गरेको र निर्माण कार्य अलपत्र पारेको आयोगको ठहर छ ।

त्यस्तै आयोगले कञ्चनपुर भन्सार कार्यालयका कार्यरत तत्कालीन नायब सुब्बा रामप्रसाद भट्टराईले रु दुई करोड आठ हजार ५४० बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनले सरकारी सेवामा प्रवेश गरेदेखि वैधरुपमा रु एक करोड १४ लाख ९१ हजार १५१ बराबरको कमाई गरेको देखिएको छ । तर आयोगको अनुसन्धानका क्रममा भट्टराईको रु तीन करोड १४ लाख ९९ हजार ६९१ बराबरको चल–अचल सम्पत्ति रहेको पाइएको छ । आयोगले आरोपी सबैलाई बिगो असुल र कैद सजायको समेत माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार २०:३७