२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

लुटेराकाे समूहद्धारा छुरा प्रहार गरी युवतीको विभत्स हत्या

६ असार, गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् । गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८/१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको घरमा पसी चोरी गर्न लागेको अवस्थामा घरधनी श्रेष्ठकी छोरी २७ वर्षीया छोरी अञ्जुकुमारी श्रेष्ठले टोल छिमेकलाई होहल्ला गरी गुहार माग्न थालेपछि चोरहरुले उनको हत्या गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

चोरहरुले युवती श्रेष्ठको शरीरभरि धारिलो छुरा प्रहार गरी गम्भीर घाइते बनाई भागेपछि उनलाई राति २ बजेतिर प्रहरी चौकी कान्तिबजारबाट प्रहरी नायब निरीक्षक बलबहादुर माझीको नेतृत्वमा खटिएको प्रहरी टोली र परिवारजनले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लगिएको थियो । तर त्यहाँ उनको उपचारपश्चात थप उपचार सम्भव नभएपछि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा आज बिहान पौने ५ बजेतिर उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

प्रहरीले घटना घटेलगत्तै सो क्षेत्रमा चोर तथा हत्याराहरुको व्यापक खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : June 21, 2019 at 8:32 am