शिक्षक सरुवासम्बन्धी गाउँपालिकाले गरेको निर्णय सर्वोच्च अदालतबाट सदर
५ असार, साेलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवासम्बन्धी निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय दीपकुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्दै गाउँपालिकाको निर्णय सदर गरेको हो । यसअघि न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी जेठ २४ गते सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
गाउँपालिकाले वैशाख २५ गते गाउँ शिक्षा ऐन, २०७४ को दफा २४ अनुसार ६७ शिक्षकलाई गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा पदस्थापन एवं सरुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरुद्धमा सरुवामा परेका शिक्षक डिल्लीबहादुर खुलाल बस्नेतसहितले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
उक्त रिटउपर जेठ २४ गते असार ३ गतेसम्मका लागि निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको निर्णयपछि गाउँपालिका अध्यक्ष असिम राईले न्यायालयको निर्णयले गाउँपालिकाले घोषणा गरेको ‘शैक्षिक सुधार वर्ष’लाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले लामो समयदेखि शिक्षामा देखिएको समस्या समधानका लागि गाउँपालिकाले नियमपूर्वक गरेको शिक्षक सरुवाको विरुद्ध अदालतमा जानुले पनि शिक्षकको हविगत देखिएको बताउनुभयो । कसैलाई पनि नटेर्ने र आफूले चाहेकै स्थानमा बस्नुपर्ने केही शिक्षकका कारण इमानदार शिक्षकलाई समेत समस्या भएकाले शैक्षिक गुणस्तर वृद्धि नभएको उहाँको टिप्पणी छ ।रासस
प्रकाशित मिति : ५ असार २०७६, बिहीबार १०:४७