१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एउटा परिवारको सहयोगले नुवाकोट बुधसिङको अन्नपुर्ण आधारभुत स्कुलको स्वरूप नै परिवर्तन

४ असार, नुवाकोट । एउटा परिवारको सहयाेगले एक विद्यालयको स्वरूप नै परिवर्तन भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिंङमा रहेको अन्नपुर्ण आधारभुत विद्यालयको भौतिक संरचनाले नयाँ स्वरुप पाएको हो । समाजसेवी रामकाजी थापा, उनकी श्रीमति सरस्वती उप्रती र छोरी प्रस्तुती थापाले विद्यालयमा रहेका भवनमा प्लास्टार गर्ने, रङ लगाउने तथा विभिन्न पढनपाठनलाई मदत मिल्ने सांकेतिक चिन्हहरु बनाउन आर्थिक सहयोग गरेका हुन । उनीहरूको सहयोगले विद्यालयको स्वरूप नै परिवर्तन भएको छ ।

थापा परिवारले सोमबार विद्यालयको स्वरुप परिवर्तन गरेर गाउँपालिका अध्यक्ष रमेश वस्ती, वडा नम्बर ४ का वडाअध्यक्ष राममणि अधिकारी र विद्यालयका प्रध्यानाअध्यापक नवराज श्रेष्ठ लगायतको उपस्थितिमा हस्तान्त्ररण गरेका छन ।  विद्यालयमा विशेष गरि दलित समुदायका विद्यार्थीहरु पढ्ने गरेको र गाउँपालिकाको शिक्षा क्षेत्रलाई सहयोग गर्न आफुहरुले विद्यालयलाई भौतिक र शैक्षिक सामाग्री दिएर सहयोग गरेको समाजसेवी रामकाजी थापाले बताएका छन ।

नेवारपानी घर भई काठमाण्डौको एक अस्पतालमा काम गर्दै आएका उनले उत्त विद्यालयलाई गतवर्ष पनि आर्थिक सहयोग गरेका थिए । उनीहरुले विद्यालयलाई प्रिन्टर, ग्लोब, शैक्षिक सामाग्री तथा स्टेशनरी सामान प्रदान गरेको विद्यालयका प्रध्यानाअध्यापक नवराज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले थापाजस्तै गाउँको विद्यालयलाई माया गर्ने अरु दुईचारजना थपिए गाउँपालिकाको शैक्षिक अवस्था सुध्रने बताए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार ०८:४५