११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

नुवाकोटको लिखुमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १० जनाले काम शुरू गरे 

३ असार, नुवाकाेट ।  नुवाकोटको लिखु गाउँपालिका–५ कल्छेपाखास्थित फुटबल खेल मैदानको मर्मत तथा सम्भारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत दश जनाले काम शुरु गर्नुभएको छ । उनीहरुलाई दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काम गरेवापत प्रति व्यक्ति रु ६३० का दरले ज्याला दिइनेछ ।

लिखु गाउँपालिका–५ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठले गाउँपालिकामा रोजगार कार्यक्रमका लागि रु ११ लाख बजेट आएकोमा प्रत्येक वडालाई रु एक लाख ३५ हजार रकम विनियोजन गरिएको बताउनुभयो । वडा कार्यालयमा १३३ स्थानीयवासीले रोजगारका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये १० जनालाई काममा लगाई प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको श्रेष्ठले बताउनुभयो ।

खेलमैदान मर्मत सम्भारको काम सकिएपछि तिनै रोजगारदातालाई वडामा भत्काएका कुलो, धारा, खानेपानीका मुहान, सडक, बाटो, मठ मन्दिर, पाटीपौवा, विद्यालय, सार्वजनिक चौतारालगायतको मर्मत सम्भारका काममा लगाइने लिखु गाउँपालिकाको रोजगार संयोजक सोनु खनालले जानकारी दिनुभयो ।रासस

प्रकाशित मिति : June 18, 2019 at 7:32 pm