नेपाल शैक्षिक परामर्श सङ्घले अन्तर्राष्ट्रिय शिक्षाबारे शैक्षिक मेला गर्दै
२ असार, काठमाडाैँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘१३ औँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विष्णुहरि पाण्डेले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई त्यहाँको शिक्षाबारे जानकारी गराउन मेला आयोजना गरिएको बताउनुभयो । “यहाँबाट विदेशमा पढ्न जाँदा धेरै विद्यार्थी कुन विषय कहाँ पढ्ने भनेर अलमलमा पर्ने गर्दछन्”, उहाँले भन्नुभयो, “त्यसैले विदेशको शिक्षाबारे यहीँ जानकारी गराउन मेला आयोजना गरिएको हो ।
मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालय र त्यहाँबाट प्राप्त हुने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा समेत जानकारी गराइनेछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा यही असार २६ देखि २९ गतेसम्म सञ्चालन हुने मेलामा करीब चार सय शैक्षिक संस्थाका स्टल राखिनेछ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा उपत्यकाबाट आउने विद्यार्थीलाई लक्षित गरी निश्चित रुटमा निःशुल्क यातायातको व्यवस्थासमेत गरिएको सङ्घका अध्यक्ष पाण्डेले बताउनुभयो । मेलामा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनलगायत देशका विश्वविद्यालय तथा कलेजको समेत सहभागित हुनेछ ।रासस
प्रकाशित मिति : २ असार २०७६, सोमबार २०:४९