२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अनुशासन कायम गराउने भन्दै प्रधानाध्यापकद्धारा विद्यार्थीमाथि निर्घात कुटपिट, ५ घाइते, १ बेहाेस

२ असार, सर्लाही । अनुशासन कायम गराउने भन्दै प्रधानाध्यापकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । प्रधानाध्यापकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका -१ हजरियास्थित बाग्मती सामुदायिक विद्यालयका ६ जना विद्यार्थी घाइते भएका हुन् । बाग्मती सामुदायिक विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद रायले कक्षा १ देखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सोमबार बिहान बेहोस् हुने गरी कुटपिट गरेका थिए । प्रधानाध्यापक रायको कुटाइबाट कक्षा ३ मा पढ्ने १० वर्षीय छात्र सञ्जीव सहनी बेहोस भएका छन् भने उनीसँगै पढ्ने अरु ५ जनाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको छ।

प्रधानाध्यापक रायले बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलाश सहनी र तेतरीदेवी सहनीलाइ लठ्ठीले कुटेर घाइते बनाएको प्रहरीले जनाएकाे छ । घाइतेमध्ये बेहोस भएका सञ्जीव सहनीको बरहथवामा रहेको भेनस हेल्थ केयर सेन्टरमा उपचार भैइरहेको छ। अन्य विद्यार्थी भने सामान्य उपचारपछि घर फर्किएका छन्। अभिभावकले पढन गएका छोराछोरीमाथि निर्घात कुटपिट गर्ने प्रधानाध्यापकलाइ कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : June 17, 2019 at 7:23 pm