२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

गलत प्रचारले जनतामा निराशा बढाएकाे छः मुख्यमन्त्री शाही

१ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको अनर्गल प्रचारबाजीले जनतामा निराशा छाएको बताउनुभएको छ । सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय आज शुभारम्भ उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नेतृत्वका विरुद्ध भ्रम सिर्जना गरी सङ्घीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने मनसायले गरिएका प्रचारबाजी बिरुद्ध सचेत रहन आग्रह गर्नुभयो । मुलुकमा कानूनी शासन रहेकाले सरकारमा बस्नेले भ्रष्ट्राचार गरेको पाइए कानूनबमोजिम दण्ड हुने उहाँको प्रष्टोक्ति थियो ।

“सङ्घीयतालाई असफल पार्न अनर्गल प्रचारबाजी भइरहेको छ”, उहाँले भन्नुभयो, “मूलत ः सङ्घीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास सम्भव छ ।” संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिँदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानूनी राज्य भएको र गैरकानूनी काम गर्ने जो कोहीले कसुरबमोजिम सजाय भोग्नुपर्ने जिकिर गर्नुभयो ।

सम्भावनाको खानी कर्णालीमा आर्थिक विकासका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “उत्पादनमूलक रोजगारी सिर्जना गर्ने क्षेत्र तथा साना तथा स्वरोजगारमूलक व्यवसायमा पनि लगानी बढाउनुहोस् र बैंक नाफामुखी मात्रै भएको भन्ने जनगुनासोलाई चिर्नुस् ।” व्यवसायीको लगानी सुरक्षाको वातावरण प्रदेश सरकारले बनाउने मुख्यमन्त्री शाहीको भनाइ थियो । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कर्णालीको आवश्यकताबमोजिम लगानी गरेर यहाँको नागरिकको आर्थिक उन्नति गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको बताउनुभयो ।रासस

प्रकाशित मिति : June 16, 2019 at 1:14 pm