१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

सम्वृद्ध नेपाल बनाउन सबैखालको गरिबीको अन्त्य गर्नुपर्छ : मन्त्री अर्याल

२९ जेठ, काठमाडाैँ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सम्वृद्ध नेपाल बनाउन सबैखाले गरिबीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ। अखिल नेपाल किसान महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको ‘दक्षिण एशियालैंगिक संवेदनशील मूल्य श्रृंखला’ सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय परमर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो। गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने उहाँको भनाइ थियो।

‘गरिवी निवारण सबै क्षेत्रसंग सम्बन्धित विषय भएको हुनाले सरकार, सहकारी र निजी तथा गैरसरकारी विकास साझेदारहरुसँग समन्वय र एकिकृत प्रयासबाट गरिवी निवारणका चुनौति पार गर्न सकिने कुरामा विश्वस्त छौं’, उहाँले भन्नुभयो। विश्व भर नै लैंगिक विभेद र असमानता कायम रहेको भन्दै मन्त्री अर्यालले यो समस्या अझ बढी दुर्गमका बस्तीहरुमा विद्यमान रहेको बताउनुभयो। ग्रामिण क्षेत्रका महिलाहरु अहिले पनि राज्यका सेवा सुविधाबाट बञ्चित रहेको भन्दै महिलाहरुको शसक्तिकरण र लैंगिक समानता नै खाद्य कृषी संगठनको समग्र लक्ष्य गरिवी न्यूनिकरण तथा खाद्य सुरक्षाको मर्म हुने मन्त्री अर्यालले बताउनुभयो।

नेपालको सन्दर्भमा “सम्वृद्ध नेपाल, सुखी नेपाली” मूल लक्ष्य लिएर सरकार अगाडी बढिरहेको भन्दै मन्त्री अर्यालले सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा रहेको बताउनुभयो। शिक्षा/स्वास्थ्य/खानेपानी/आवास/सूचना जस्ता व्यक्तिका आधारभुत आवश्यक्ताका वस्तु तथा सेवामा गरिवहरुको सहज पहुंच स्थापित गर्न, पिछडिएका व्यक्ति/परिवार/वर्ग/क्षेत्र र समुदायलाई विकासको मुल प्रवाहमा समाहित गराई विकासको प्रतिफल सबैलाई न्यायोचित रूपमा वितरण गरी मुलुकमा आर्थिक असमानता घटाउने प्रयास थालिएको बताउनुभयो।

भुमिको उत्पादकत्व बृद्धी,उन्नत र आधुनिक कृषी उद्योगको विकास बजारिकरण, खाद्य सम्प्रभुता र ग्रामिण गरिवीको जिवनस्तर उकास्ने कार्यतर्फ सरकार लागिरहेको भन्दै मन्त्री अर्यालले भुमिसुधारको सवाल सामाजिक तथा आर्थिक रुपान्तरणको मुख्य सवाल भएको समेत बताउनुभयो। ‘भुमि सुधार भनेको गरिवलाई जग्गा बाँड्ने कुरा मात्र होइन, बाँझो रहेका हजारौं जमिन कसरी कृषी उत्पादनमा लगाई अधिकतम लाभ लिने भन्ने पनि हो’, मन्त्री अर्यालले भन्नुभयो।

सहकारीमा सिधै जनताको पहुंच स्थापित भएको भन्दै उहाँले नेपालका सहकारी संस्थाहरुमा आवद्ध सदस्य संख्याको ६० प्रतिशत भन्दा बढी महिलाहरुको सहभागिता रहेको उल्लेख गर्नुभयो। समाजमा व्याप्त गरिवी र भोकमरी अन्त्य गर्न कृषी सहकारी/साना किसान सहकारी एवम् लैंगिक संवेदनिय मुल्य श्रृंखलाको भुमिका कोशेढुङ्गा सावित हुने अर्यालले विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति : June 12, 2019 at 5:43 pm