२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

लोकसेवा आयोगको विज्ञापन समावेशी र समानुपातिक नभएकाे भन्दै खारेज गर्न सांसदकाे माग

२३ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गर्नुभयो । बैठकमा उहाँहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गर्दै शून्य समयमा सदनमा राखेका धारणा शून्यमा नहराउन भन्दै शून्य समयका राखेका विषय के कति कार्यान्वयन भयो ? जवाफ दिन माग गर्नुभयो ।

सांसदहरुले संसद् सचिवालयमा कार्यरत कर्मचारीले प्रोत्साहन भत्ता ५० प्रतिशत पाउने गरेका तर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारीले प्रोत्साहन भत्ता नपाएको एक वर्ष भइसकेको हुँदा तुरुन्त कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजुको रकम रु २० अर्ब २६ करोड पुगेकामा चिन्ता व्यक्त गर्दै बेरुजु फछ्र्योटमा ध्यान दिन, सप्तरी जिल्लामा गत वर्ष हात्तीको आतङ्कबाट १९ जनाको मृत्यु भएको हुँदा हात्ती आतङ्क रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसरी सरकारको ध्यानाकर्षण गराउनुहुने सांसदहरुमा ज्ञानेन्द्रकुमार कार्की, हिरा गुरुङ, सञ्जकुमार गौतम, सुजाता परियार, सीतादेवी यादव, सरिताकुमारी गिरी, विरोध खतिवडा ,ज्ञानकुमारी छन्त्याल, विमला विश्वकर्मा, लालकाजी गुरुङ, लक्ष्मी परियार हुनुहुन्थ्यो ।रासस

प्रकाशित मिति : June 6, 2019 at 12:41 pm