कृषि फार्मका लागि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ
१२ कात्तिक, काठमाडौं । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र सहजै सहुलियत अनुदान मिलाइदिन सक्ने भन्दै विश्वास दिलाएर उनीहरूले विभिन्न बहानामा पटक–पटक गरी उक्त रकम ठगी गरेको आरोप छ ।
जालिम सिंह महतोको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगीसम्बन्धी मुद्दामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३, ताहाचल बस्ने ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४, नखिपोट बस्ने ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन्। महर्जनलाई तिलक बुढाथोकीका नामले समेत चिनिने प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई २०८३ कात्तिक ११ गते काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : October 29, 2026 at 12:47 pm










