प्रधानमन्त्री ओलीको ८ दिने युरोप भ्रमण तय, ओलीले बेलायती संसदीय समितिलाई पनि सम्बोधन गर्ने
२० जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले आठदिने युरोप भ्रमणका क्रममा स्विजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस क्रममा प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओको शतवार्षिकीको विशेष समारोहलाई सम्बोधन गर्नुहुने छ । जेनेभामा रहँदा साइडलाइनमा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।
त्यस्तै उहाँले जेठ २७ देखि २९ गतेसम्म बेलायतको भ्रमण गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा जेठ २८ गते उहाँले बेलायती प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्नुहुने छ । त्यस अवसरमा प्रधानमन्त्रीले नेपालले हासिल गर्न लागेको विकासको दिशा र समग्रमा हामीले जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने खालको ‘फङ्सनल डेमोक्रेसी’का विविध आयामबारे सम्बोधन गर्ने कार्यक्रम छ । साथै, बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले बेलायती संसदीय समितिलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल–फ्रान्सबीचको दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम तय गरिएको छ । साथै, नेपाल र फ्रान्सबीच लामो समयपछि उच्चस्तरीय भ्रमण हुन लगेकाले सम्बन्धलाई अझ घनिष्ठ बनाइने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।
उहाँले नेपालमा फ्रान्सेली लगानीका विषयमा पनि छलफल हुने र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम हुन लागेको तथा त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुने छ । बेलायतसँग नेपालको युगौँ पुरानो सम्बन्धका बारेमा सिंहावलोकन गर्नुका साथै सबन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास पनि व्यक्त गरिएको छ । त्यस्तै बेलायतमा कार्यरत ब्रिटिस गोरखा सैनिकको विषयमा पनि
छलफल हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 09:16









